प्रधानमन्त्री शाहद्वारा सचिवालयको जिम्मेवारी हेरफेर, केही हटाइए केहीको बढुवा
सारांश
- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालय टोलीको जिम्मेवारीमा व्यापक हेरफेर गरेका छन्।
- आइतबारदेखि लागू हुने गरी केही सदस्यलाई सचिवालयबाट हटाइएको छ भने केहीको जिम्मेवारी परिवर्तन तथा बढुवा गरिएको छ।
- प्रधानमन्त्रीको सचिवालयबाट माधव खनाललाई हटाइएको छ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालय टोलीको जिम्मेवारीमा व्यापक हेरफेर गरेका छन्। आइतबारदेखि लागू हुने गरी केही सदस्यलाई सचिवालयबाट हटाइएको छ भने केहीको जिम्मेवारी परिवर्तन तथा बढुवा गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयबाट माधव खनाललाई हटाइएको छ। यस्तै, दीपा दाहाल, विश्व राई र सञ्जिव पाण्डेको जिम्मेवारी हेरफेर गरिएको छ।
यसअघि प्रेस तथा अनुसन्धान विज्ञका रूपमा नियुक्त दीपा दाहाललाई अब मिडिया व्यवस्थापन संयोजकको जिम्मेवारी दिइएको छ। इन्जिनियर सञ्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक र विश्व राईलाई सामाजिक विकास समन्वय संयोजक बनाइएको छ।
यसअघि उनीहरू तीनै जना प्रधानमन्त्रीको सचिवालयमा विज्ञका रूपमा नियुक्त भएका थिए। तर, आइतबारदेखि उनीहरूलाई संयोजक तथा सहसंयोजकको जिम्मेवारी दिइएको छ। यससम्बन्धी विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा समेत अद्यावधिक गरिएको छ।
प्रधानमन्त्री शाहकै निर्देशनमा सचिवालयका सदस्यहरूको कार्यसम्पादन समीक्षा गरी जिम्मेवारी हेरफेर गरिएको प्रधानमन्त्रीको सल्लाहकार टोलीका एक सदस्यले बताएका छन्।
उनका अनुसार कार्यप्रगतिको मूल्यांकनपछि राम्रो कार्यसम्पादन गर्ने केही सदस्यको बढुवा गरिएको छ भने केहीको जिम्मेवारी परिवर्तन तथा घटुवा गरिएको छ।
यद्यपि, विज्ञ पदबाट हटाइएका केही सदस्यलाई उनीहरूले यसअघि सम्हाल्दै आएको जिम्मेवारीमै निरन्तरता दिइएको देखिएको छ।
यसबीच प्रधानमन्त्री शाहका प्रमुख स्वकीय सचिव र पाँच जना सल्लाहकारको जिम्मेवारी भने यथावत् राखिएको छ।
यथावत् रहने सल्लाहकारहरूमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदिशप्रसाद अग्रवाल, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र छन्।
त्यस्तै, प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नवीन भण्डारी पनि पूर्ववत् जिम्मेवारीमै रहने भएका छन्।

प्रतिक्रिया