काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
सारांश
- पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
- श्रेष्ठले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी हुन्।
- उनले आफ्नो जीवन र कर्मबाट हासिल गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
श्रेष्ठले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी हुन्।
उनले आफ्नो जीवन र कर्मबाट हासिल गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।
हाल कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेकी श्रेष्ठले स्वतन्त्र रूपमा उम्मेदवारी दिने वा कुनै दलको तर्फबाट चुनाव लड्ने भन्ने विषय भने खुलाएकी छैनन्।
श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध थिइन्। उनले गत वर्ष भदौमा पार्टी परित्याग गरेकी थिइन्। पार्टीमा रहँदा उनी सहमहामन्त्रीको जिम्मेवारीमा समेत थिइन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी श्रेष्ठ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेकी थिइन्। सांसद भएपछि दोहोरो जिम्मेवारीमा नरहने भन्दै उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्।
पछि भदौ २४ गतेको घटनापछि उनले रास्वपा छाडेको घोषणा गरेकी थिइन्। पार्टीगत आबद्धताबाट अलग रहेकी श्रेष्ठको मेयरमा उम्मेदवारी दिने घोषणासँगै काठमाडौं महानगरको आगामी निर्वाचन थप चासोको विषय बनेको छ।

प्रतिक्रिया