snamai single page

एमाले फेरि सरकारमा फर्किने ओलीको दाबी, ३५ सय नेता–कार्यकर्तामाझ चुनावी तयारीको सन्देश

डिजिटल चौतारी डिजिटल चौतारी
|
बुधबार, मंसिर २, २०८३
|
|
१०.४K पटक हेरिएको
Shares
एमाले फेरि सरकारमा फर्किने ओलीको दाबी, ३५ सय नेता–कार्यकर्तामाझ चुनावी तयारीको सन्देश

सारांश

  • ** नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आगामी निर्वाचनमा सफलता हासिल गर्दै पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।
  • देशभरबाट आएका ३ हजार ५०० भन्दा बढी नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले निर्वाचनको परिणामबाट निराश नहुन र पार्टीलाई थप सशक्त बनाउन सक्रिय हुन आग्रह गरेका हुन्।
  • राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले फेरि देशको नेतृत्वमा फर्किने विश्वास व्यक्त गरे।

२ मंसिर, काठमाडौं ।** नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आगामी निर्वाचनमा सफलता हासिल गर्दै पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्। देशभरबाट आएका ३ हजार ५०० भन्दा बढी नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले निर्वाचनको परिणामबाट निराश नहुन र पार्टीलाई थप सशक्त बनाउन सक्रिय हुन आग्रह गरेका हुन्।

राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले फेरि देशको नेतृत्वमा फर्किने विश्वास व्यक्त गरे। पार्टीलाई कमजोर भएको भन्दै टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै उनले भने, ‘हेर्दाहेर्दै एमाले फेरि सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ।’

विगतमा पनि एमाले समाप्त पार्ने प्रयास असफल भएको उल्लेख गर्दै ओलीले एमाले देशको भविष्य भएको दाबी गरे। उनका अनुसार पछिल्लो निर्वाचनमा पार्टीले बेहोरेको पराजय आन्तरिक कमजोरीका कारण नभई बाह्य शक्तिको चलखेल र आक्रमणका कारण भएको हो।

‘मुख्य रूपमा बाह्य हमला भएको हो। हामीमाथिको निलडाम हाम्रो कारणले होइन, अत्यन्तै आतंकपूर्ण हमलाका कारणले भएको हो,’ उनले भने।

जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिले एमाले प्रतिकूल वातावरणमा निर्वाचनमा सहभागी हुनुपरेको ओलीको भनाइ थियो। व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, राजनीतिक दलका कार्यालय तथा नेताहरूका निवासमा भएका आक्रमणले असामान्य परिस्थिति सिर्जना गरेको उनले बताए।

सरकार र प्रहरी नेतृत्वप्रति ओलीको आक्रोश

सम्बोधनका क्रममा ओलीले वर्तमान सरकारका गतिविधिप्रति चर्को असन्तुष्टि जनाए। उनले प्रहरी महानिरीक्षक (आईजीपी) ले आफू, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गर्ने अभिव्यक्ति दिएको दाबी गरे।

तर, नेपाल प्रहरीले ओलीको उक्त दाबीको खण्डन गरेको छ। प्रहरी प्रवक्ता अविनारायण काफ्लेले आईजीपीले त्यस्तो अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन्।

उनका अनुसार आईजीपी कुनै औपचारिक कार्यक्रममा त्यस्तो बोलेको जानकारी प्रहरीलाई छैन। प्रहरीले कसैलाई पक्राउ गर्ने धम्की दिने कुरा पनि नभएको उनले बताएका छन्।

यसैबीच, जेनजी आन्दोलनका क्रममा भएको दमनको आरोपमा आफूलाई पक्राउ गर्न खोजिएको भन्दै ओलीले सरकारमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए। सरकारले पुनः गिरफ्तारीको प्रयास गरे लाखौं कार्यकर्ता सडकमा उतार्ने चेतावनीसमेत उनले दिएका छन्।

‘आन्दोलनको तयारी हिसाबले बस्नुस्, कुनै पनि समय सरकारले प्रतिशोध लिन सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ,’ उनले कार्यकर्तालाई भने।

मानव अधिकार आयोगको प्रतिवेदनप्रति समेत ओलीले आपत्ति जनाए। विदेशी संस्थाहरूले नेपालको कानुनअनुसार काम गर्नुपर्ने विषय उठाउँदा त्यसलाई गलत रूपमा व्याख्या गरिएको उनको आरोप थियो।

एमालेभित्रको विवाद अन्त्य भएको ओलीको दाबी

ओलीले सम्बोधनको क्रममा पार्टीभित्र उठेको नेतृत्व परिवर्तन र पुनर्गठनको बहसबारे पनि धारणा राखे। ‘केपी ओलीबिनाको एमाले’ बनाउने प्रयास असफल भएको उनको दाबी थियो।

उनका अनुसार पार्टीभित्र नेतृत्वबारे उठेका बहस र असन्तुष्टिहरू छलफलबाट टुंगिएका छन् र एमाले पुनः एकताबद्ध भएर अघि बढेको छ।

‘एमाले छलफल गर्छ, निष्कर्ष निकाल्छ, फेरि पार्टी एकताबद्ध हुन्छ र अगाडि बढ्छ,’ उनले भने।

जेनजी आन्दोलनको दमनको आरोप, मानव अधिकार आयोगको प्रतिवेदन, सरकारको गिरफ्तारी अभियान र आफ्नो स्वास्थ्य अवस्थाबारे समेत ओलीले सम्बोधनमा चर्चा गरेका थिए।

स्थानीय निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान सुरु

राष्ट्रिय भेलामार्फत ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। विशेषगरी स्थानीय तहको निर्वाचनमा सफलता हासिल गर्न अहिलेदेखि नै संगठन विस्तार र जनसम्पर्क अभियान सञ्चालन गर्न उनले आग्रह गरे।

‘एकपछि अर्को निर्वाचन आउँदैछ। आगामी स्थानीय तहको निर्वाचनमा जित्नुपर्नेछ। चुनावसम्म हामी आराम गर्दैनौं,’ ओलीले भने।

नयाँ राजनीतिक दलहरूले निर्वाचनलाई संगठन विस्तारको अवसरका रूपमा लिन खोजेको उल्लेख गर्दै उनले एमालेले आफ्नो संगठन थप मजबुत बनाउनुपर्ने बताए।

आगामी निर्वाचनमा पुराना राजनीतिक दलहरूबीच सहकार्यको सम्भावना पनि ओलीले औंल्याए। राजनीतिक दलहरू एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने भन्दै अन्य दलसँग सहकार्यको पहल एमालेले नेतृत्व तहबाट गर्ने उनको भनाइ थियो।

तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयअनुसार पार्टीका दुई कार्यभार र १५ वटा कार्यक्रमलाई तल्लो तहसम्म पुर्‍याउनुपर्ने उनले बताए। जनसंवाद अभियान सुरु गर्दै पार्टीको संगठनात्मक शक्ति प्रदर्शन गर्न पनि उनले निर्देशन दिए।

पौडेल र पोखरेलको प्रशिक्षणात्मक मन्तव्य

ओलीको सम्बोधनपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए।

उपाध्यक्ष पौडेलले एमाले नेतृत्वका विगतका सरकारहरूले गरेका काम र उपलब्धिबारे चर्चा गरेका थिए। महासचिव पोखरेलले भने पार्टी संगठन शुद्धीकरणका प्रस्ताव तथा आगामी स्थानीय निर्वाचनमा अपनाउनुपर्ने पार्टी नीतिबारे प्रस्तुति दिएका थिए।

राष्ट्रिय भेलाको दोस्रो दिन वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक मन्तव्य राख्ने तथा उपाध्यक्ष रामबहादुर थापाले संसदीय अनुभव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

भेलामा देशभरका पालिका, जिल्ला तथा प्रदेश तहका पदाधिकारी सहभागी छन्। सहभागीहरूले आफ्नो क्षेत्रका सुझाव लिखित रूपमा पार्टी नेतृत्वसमक्ष बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

यसअघि एमालेका यस्ता बैठक तथा भेलामा समूहगत छलफलमार्फत निष्कर्ष निकाल्ने अभ्यास भए पनि यसपटक नेताहरूको मन्तव्य र प्रशिक्षणपछि सहभागीलाई आ–आफ्नो क्षेत्रमा फर्काउने तयारी गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
मेयर कप ब्याडमिन्टनमा गुरु–चेलाको जोडी प्रथम
मेयर कप ब्याडमिन्टनमा गुरु–चेलाको जोडी प्रथम
स्टार्कको १० विकेटमा अस्ट्रेलियाले घरेलु मैदानमा जित्यो सबैभन्दा छोटो टेस्ट
स्टार्कको १० विकेटमा अस्ट्रेलियाले घरेलु मैदानमा जित्यो सबैभन्दा छोटो टेस्ट
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
भोटेकोसी बाढी: केरुङमा फसेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
भोटेकोसी बाढी: केरुङमा फसेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
विद्यार्थी राजनीतिबाट कांग्रेसको नेतृत्व कब्जासम्मः नेविसंघका नेताहरूको यस्तो उभार
विद्यार्थी राजनीतिबाट कांग्रेसको नेतृत्व कब्जासम्मः नेविसंघका नेताहरूको यस्तो उभार
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी
सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी
नेपाल–चीन सम्बन्धको दीर्घकालीन आधार जनस्तरको सम्बन्ध: परराष्ट्रमन्त्री खनाल
नेपाल–चीन सम्बन्धको दीर्घकालीन आधार जनस्तरको सम्बन्ध: परराष्ट्रमन्त्री खनाल

तपाईंले छुटाउनुभयो कि?