वाणिज्य बैंकको निक्षेप ब्याजदर ४ प्रतिशतभन्दा तल, मंसिरमा ६ बैंकले घटाए
सारांश
- वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ।
- बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन्।
- रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि हुँदा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढिरहेको छ।
काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन्।
रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि हुँदा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढिरहेको छ। तर, निजी क्षेत्रतर्फ कर्जा प्रवाह अपेक्षाकृत विस्तार हुन नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ। यही अवस्थाका कारण बैंकहरूले निक्षेपको लागत घटाउने रणनीति अपनाइरहेका छन्।
मंसिरमा ६ बैंकले घटाए ब्याजदर
मंसिर महिनाका लागि सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले निक्षेपको ब्याजदर घटाएका छन्। १४ बैंकले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले ब्याजदर वृद्धि गरेका छैनन्।
ब्याजदर घटाउने बैंकमध्ये माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै कटौती गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १ प्रतिशत बिन्दुले घटाएर ३.५ प्रतिशतमा सीमित गरेको छ। त्यस्तै, कृषि विकास बैंकले ०.५ प्रतिशत बिन्दुले घटाउँदै ब्याजदर ३.६५ प्रतिशत कायम गरेको छ।
एनएमबी बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको छ। यसैगरी लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।
मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर सानिमा बैंकले दिने भएको छ। बैंकले अधिकतम ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। प्रभु बैंकले ४.२५ प्रतिशत र नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर कायम गरेका छन्। अन्य केही बैंकले भने ४ प्रतिशत ब्याजदर तोकेका छन्।
ब्याजदरमा आएको कटौतीसँगै वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिक महिनाको ४.०१३ प्रतिशतबाट घटेर मंसिरमा ३.९०६ प्रतिशतमा झरेको छ। यसअनुसार औसत ब्याजदर ०.१०७ प्रतिशत बिन्दुले घटेको हो।
त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३.००३ प्रतिशतबाट घटेर मंसिरमा २.९९०५ प्रतिशत कायम भएको छ।
१४ बैंकले कायम राखे कात्तिककै ब्याजदर
मंसिर महिनामा १४ वाणिज्य बैंकले भने निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
यसले बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहँदा निक्षेपको लागत घटाउने प्रवृत्ति अझै जारी रहेको संकेत गरेको छ।

प्रतिक्रिया