निर्जीवन बीमा कम्पनीहरूको घाटा घट्यो, असोजसम्म १ अर्ब २७ करोड घाटा
सारांश
- युवा आन्दोलन र त्यसपछि आएको बाढीका कारण सिर्जित चुनौतीको सामना गरिरहेका निर्जीवन बीमा कम्पनीहरूको वित्तीय अवस्थामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा केही सुधार देखिएको छ।
- गत आर्थिक वर्षको तुलनामा अधिकांश कम्पनीले आफ्नो नाफा तथा घाटा घटाउन सफल भए पनि समग्र निर्जीवन बीमा क्षेत्र भने अझै घाटामै रहेको छ।
- चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीको कुल खुद घाटा १ अर्ब २७ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
काठमाडौँ । युवा आन्दोलन र त्यसपछि आएको बाढीका कारण सिर्जित चुनौतीको सामना गरिरहेका निर्जीवन बीमा कम्पनीहरूको वित्तीय अवस्थामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा केही सुधार देखिएको छ। गत आर्थिक वर्षको तुलनामा अधिकांश कम्पनीले आफ्नो नाफा तथा घाटा घटाउन सफल भए पनि समग्र निर्जीवन बीमा क्षेत्र भने अझै घाटामै रहेको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीको कुल खुद घाटा १ अर्ब २७ करोड ४६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा १ अर्ब ७३ करोड ७७ लाख ७६ हजार रुपैयाँ थियो। यसअनुसार कम्पनीहरूको कुल घाटा करिब ४६ करोड ३१ लाख रुपैयाँले घटेको छ।
कम्पनीगत विवरणअनुसार राष्ट्रिय बीमा कम्पनी सबैभन्दा बढी खुद नाफा कमाउने कम्पनी बनेको छ। कम्पनीले असोजसम्म २८ करोड ३० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा ९ करोड ९५ लाख ९ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले यस वर्ष उल्लेख्य सुधार गर्दै नाफा कमाएको हो।
प्रभु इन्स्योरेन्सले पनि आफ्नो नाफा बढाएको छ। कम्पनीले समीक्षा अवधिमा ६ करोड ६८ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा ५.८० प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, शिखर इन्स्योरेन्स गत वर्षको ठूलो घाटाबाट बाहिरिँदै नाफामा फर्किएको छ। गत वर्ष असोजसम्म १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले यस वर्ष ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
एनएलजी इन्स्योरेन्सले ३ करोड ५३ लाख ४३ हजार रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यता नेशनल इन्स्योरेन्सको नाफामा भने उल्लेख्य गिरावट आएको छ। गत वर्षको असोजसम्म ३ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ७ लाख १ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ।
समीक्षा अवधिमा १४ कम्पनीमध्ये आठ कम्पनी घाटामा रहेका छन्। युनाइटेड अजोड इन्स्योरेन्स ५ करोड २९ लाख ८४ हजार रुपैयाँ, नेको इन्स्योरेन्स ८ करोड १८ लाख ७१ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १६ करोड १५ लाख ५६ हजार रुपैयाँ घाटामा छन्।
त्यसैगरी, नेपाल इन्स्योरेन्सको खुद घाटा २० करोड ४७ लाख २ हजार रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २० करोड ९८ लाख ३२ हजार रुपैयाँ रहेको छ।
सानिमा जिआईसी इन्स्योरेन्सको घाटा भने थप बढेको छ। गत वर्षको सोही अवधिमा २० करोड २ लाख ३ हजार रुपैयाँ घाटामा रहेको कम्पनीको घाटा यस वर्ष बढेर २९ करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ।
द ओरिएन्टल इन्स्योरेन्स ३२ करोड ६० लाख ९१ हजार रुपैयाँ खुद घाटामा रहेको छ। सबैभन्दा कमजोर वित्तीय नतिजा हिमालयन एभरेष्ट इन्स्योरेन्सको देखिएको छ। गत वर्षको असोजसम्म १० करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा ४० करोड ११ लाख रुपैयाँ घाटामा पुगेको छ।
यसरी केही कम्पनी नाफामा फर्किए पनि ठूला घाटामा रहेका कम्पनीका कारण समग्र निर्जीवन बीमा क्षेत्रको वित्तीय अवस्था अझै चुनौतीपूर्ण देखिएको छ।

प्रतिक्रिया