कागेश्वरीको विकासमा जापानी साझेदारी, युवाको भविष्यदेखि नगर अस्पतालसम्म
सारांश
- जापानको यामानाशी प्रिफेक्चरस्थित ओत्सुकी सिटी र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबीच शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सीप विकास तथा रोजगारीका क्षेत्रमा सहकार्य विस्तार गर्ने महत्वपूर्ण समझदारी भएको छ।
- दुई नगरबीच स्थापित भगिनी सम्बन्धलाई थप मजबुत बनाउँदै नागरिकको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित सहकार्यलाई अघि बढाउने सहमति भएको हो।
- जापानको ओत्सुकी सिटीको औपचारिक भ्रमणमा रहेका कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापासहितको प्रतिनिधिमण्डल र ओत्सुकी सिटीका पदाधिकारीबीच विभिन्न विकासका विषयमा छलफल तथा सहकार्यका लागि समझदारी भएको हो।
काठमाडौं । जापानको यामानाशी प्रिफेक्चरस्थित ओत्सुकी सिटी र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबीच शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सीप विकास तथा रोजगारीका क्षेत्रमा सहकार्य विस्तार गर्ने महत्वपूर्ण समझदारी भएको छ। दुई नगरबीच स्थापित भगिनी सम्बन्धलाई थप मजबुत बनाउँदै नागरिकको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित सहकार्यलाई अघि बढाउने सहमति भएको हो।
जापानको ओत्सुकी सिटीको औपचारिक भ्रमणमा रहेका कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापासहितको प्रतिनिधिमण्डल र ओत्सुकी सिटीका पदाधिकारीबीच विभिन्न विकासका विषयमा छलफल तथा सहकार्यका लागि समझदारी भएको हो। प्रतिनिधिमण्डल कात्तिक २८ देखि मंसिर १ गतेसम्म (नोभेम्बर १४ देखि १७) जापान भ्रमणमा रहेको छ।
भ्रमणका क्रममा विशेषगरी स्थानीय युवाको सीप विकास, अन्तर्राष्ट्रिय रोजगारीका अवसर, शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको छ। सहकार्यअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाका युवालाई जापानी भाषा, संस्कृति तथा सीपमा आधारित व्यावहारिक तालिम प्रदान गर्ने र उनीहरूलाई जापानमा अध्ययन तथा रोजगारीका अवसर प्राप्त गर्न आवश्यक सहजीकरण गर्ने विषयमा सहमति भएको छ।
यस कार्यक्रमले स्थानीय युवालाई अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुका साथै भाषा, प्रविधि र व्यावसायिक सीपको ज्ञान हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। जापानमा अध्ययन तथा रोजगारीका लागि आवश्यक तयारी, सीप अभिवृद्धि र अवसरको पहिचानमा समेत दुई नगरबीच सहकार्य गरिनेछ।
युवालाई विदेशमा रोजगारीको अवसरसँग जोड्ने विषयसँगै नगरभित्रै शिक्षा, स्वास्थ्य र अन्य विकासका क्षेत्रमा समेत जापानको अनुभव तथा प्रविधि उपयोग गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
त्यसैगरी, कागेश्वरी मनोहरा नगर अस्पतालको संस्थागत विकास, सेवा विस्तार तथा स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा पनि ओत्सुकी सिटीले दीर्घकालीन सहयोग गर्ने सहमति भएको नगर प्रमुख उपेन्द्र कार्कीले हाम्रोसञ्चारलाई जानकारी दिनुभयो।
नगर प्रमुख कार्कीका अनुसार नगर अस्पतालको विकासका लागि आवश्यक सहयोग, स्वास्थ्य सेवाको विस्तार तथा संस्थागत क्षमता अभिवृद्धिका विषयमा दुई पक्षबीच सहकार्य अघि बढाइनेछ। यसबाट नगरवासीले आफ्नै क्षेत्रमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य सेवाको पहुँच विस्तार, अस्पतालको क्षमता विकास तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखेको उहाँको भनाइ छ। ओत्सुकी सिटीसँगको सहकार्यले स्वास्थ्य क्षेत्रको विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास नगरपालिकाले लिएको छ।
नगर प्रमुख कार्कीले दुई नगरबीचको सम्बन्धलाई औपचारिक भेटघाट र कागजी समझदारीमा मात्र सीमित नराखी नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने उपलब्धिमा रूपान्तरण गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँका अनुसार युवाले सीप र रोजगारीको अवसर पाउने, नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने तथा नयाँ पुस्ताले अन्तर्राष्ट्रिय ज्ञान र अनुभव हासिल गर्ने वातावरण निर्माण गर्नु सहकार्यको मुख्य उद्देश्य हो।
नेपाल–जापान मैत्री समाजको पहलमा अघि बढेको दुई नगरबीचको भगिनी सम्बन्धलाई संस्थागत गर्ने क्रममा यसअघि सन् २०२४ सेप्टेम्बर ४ मा कागेश्वरी मनोहरा नगरपालिकामा पहिलो औपचारिक बैठक भएको थियो। उक्त बैठकमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा संस्कृतिलगायतका क्षेत्रमा आपसी सहकार्य गर्ने विषयमा छलफल गर्दै साझेदारीको आधार तयार गरिएको थियो।
त्यसपछि सन् २०२५ नोभेम्बर १० मा ओत्सुकी सिटीका नगर प्रमुख नोबुयासुले प्रतिनिधिमण्डलसहित कागेश्वरी मनोहरा नगरपालिकाको भ्रमण गर्नुभएको थियो। उक्त भ्रमणले दुई नगरबीचको सम्बन्धलाई थप नजिक बनाउनुका साथै आपसी सहकार्यका क्षेत्र पहिचान गर्न महत्वपूर्ण आधार तयार गरेको थियो।
यसपटक कागेश्वरी मनोहराका नगर प्रमुख र उपप्रमुखसहितको प्रतिनिधिमण्डलले गरेको जापान भ्रमणलाई यसअघि भएका छलफल तथा समझदारीलाई कार्यान्वयनको दिशामा अघि बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य र युवा रोजगारीसँगै कृषि, पर्यटन, प्रविधि तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा समेत सहकार्यका सम्भावना विस्तार गर्ने विषयले प्राथमिकता पाएको छ।
दुई नगरबीचको भगिनी सम्बन्धलाई व्यवहारमा उतार्दै अनुभव, ज्ञान, प्रविधि र सीप आदानप्रदान गर्ने तथा दुवै स्थानीय तहका नागरिकलाई लाभ पुग्ने कार्यक्रम अघि बढाउने लक्ष्य राखिएको छ।
नगर प्रमुख कार्कीले अन्तर्राष्ट्रिय सम्बन्धको वास्तविक उपलब्धि नागरिकको जीवनमा देखिने परिवर्तन भएको उल्लेख गर्दै सहकार्यलाई अवसरमा, अवसरलाई उपलब्धिमा र उपलब्धिलाई समृद्धिमा रूपान्तरण गर्ने प्रयास जारी रहने बताउनुभएको छ।
ओत्सुकी सिटीसँगको सहकार्य कार्यान्वयनमा आएमा कागेश्वरी मनोहराका युवाका लागि अन्तर्राष्ट्रिय अवसर विस्तार हुनुका साथै नगरको स्वास्थ्य सेवा, शिक्षा र समग्र विकासमा समेत नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया