आसक्तिको परिणाम अप्रिय हुन्छ : कांग्रेस केन्द्रीय सदस्य तामाङ
सारांश
- नेपाली कांग्रेसका केन्द्रीय सदस्य बंशलाल तामाङले पद, शक्ति, सत्ता र सम्पत्तिप्रतिको अत्यधिक मोहले अन्ततः अप्रिय परिणाम निम्त्याउने बताएका छन्।
- नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका समितिले आज नवलपुरमा आयोजना गरेको ‘डिजिटल रिप्रिजेन्टेटिभ’ कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले नेताहरूले जीवनको अन्तिम अवस्थासम्म पनि पद, सम्पत्ति र शक्तिप्रतिको मोह त्याग्न नसक्नु उचित नभएको बताए।
- यस्तो आसक्तिले व्यक्तिको राजनीतिक क्षयीकरणसँगै अन्ततः विनाशसमेत निम्त्याउन सक्ने उनको भनाइ थियो।
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बंशलाल तामाङले पद, शक्ति, सत्ता र सम्पत्तिप्रतिको अत्यधिक मोहले अन्ततः अप्रिय परिणाम निम्त्याउने बताएका छन्।
नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका समितिले आज नवलपुरमा आयोजना गरेको ‘डिजिटल रिप्रिजेन्टेटिभ’ कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले नेताहरूले जीवनको अन्तिम अवस्थासम्म पनि पद, सम्पत्ति र शक्तिप्रतिको मोह त्याग्न नसक्नु उचित नभएको बताए। यस्तो आसक्तिले व्यक्तिको राजनीतिक क्षयीकरणसँगै अन्ततः विनाशसमेत निम्त्याउन सक्ने उनको भनाइ थियो।
कांग्रेस देशको नेतृत्व गर्न तयार रहेको सन्देश आम नागरिकसम्म पुर्याउनुपर्नेमा जोड दिँदै उनले नारामा मात्रै ‘बदलेको कांग्रेस’ भनेर नहुने बताए। कांग्रेसले आफ्नो कार्यशैली, व्यवहार र चरित्रसमेत परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, राजनीतिक दलहरू एक्लाएक्लै निष्पक्ष रूपमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्था बने कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने उनले दाबी गरे। त्यसका लागि कांग्रेसले आफ्नो संगठन, विचार र जनतासँगको विश्वासलाई थप बलियो बनाउँदै अघि बढ्नुपर्ने तामाङले बताए।

प्रतिक्रिया