मेलम्ची नगरपालिकाको स्वास्थ्य शिविरबाट ४७९ महिला र ३५० विद्यार्थी लाभान्वित
सारांश
- मेलम्ची नगरपालिकाको आयोजनामा तथा कम्युनिटी सर्भिस एकेडेमी नेपाल (COSAN) को सहयोगमा मेलम्ची नगरपालिका वडा नं.
- ४ स्थित कृष्ण माध्यमिक विद्यालय, पिप्लेमा महिला प्रजनन स्वास्थ्य तथा विद्यालय स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
- शिविरबाट ४७९ जना महिला तथा ३५० जना विद्यालयका बालबालिका लाभान्वित भएका छन्।
मेलम्ची, सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकाको आयोजनामा तथा कम्युनिटी सर्भिस एकेडेमी नेपाल (COSAN) को सहयोगमा मेलम्ची नगरपालिका वडा नं. ४ स्थित कृष्ण माध्यमिक विद्यालय, पिप्लेमा महिला प्रजनन स्वास्थ्य तथा विद्यालय स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
शिविरबाट ४७९ जना महिला तथा ३५० जना विद्यालयका बालबालिका लाभान्वित भएका छन्।
महिला प्रजनन स्वास्थ्यतर्फ ४७९ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ९३ जनामा पाठेघर तथा प्रजनन अङ्ग खस्ने समस्या (Pelvic Organ Prolapse–POP) पहिचान भएको थियो। ४२ जनालाई रिङ पेसरी (Ring Pessary) राखिएको र १७ जनालाई शल्यक्रियाका लागि प्रेषण गरिएको थियो।
त्यस्तै, २९० जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण (Visual Inspection with Acetic Acid–VIA) गरिएकोमा १० जनाको नतिजा सकारात्मक आएको थियो। ती १० जनालाई क्रायोथेरापी/थर्मोकोएगुलेसन (Cryotherapy/Thermocoagulation) सेवा प्रदान गरिएको थियो। साथै, २६० जनालाई अल्ट्रासाउन्ड परीक्षण (Ultrasound) का लागि प्रेषण गरिएको थियो।
शिविरमा अन्य प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरूको समेत पहिचान गरिएको थियो। जसअन्तर्गत २३ जनामा श्रोणि अङ्गको संक्रमण (Pelvic Inflammatory Disease–PID), ६१ जनामा योनीस्रावसम्बन्धी समस्या (Vaginal Discharge Syndrome–VDS), ५५ जनामा पाठेघरको मुखको संक्रमण तथा सुजन (Cervicitis) र ९० जनामा क्यान्डिडा फङ्गसबाट हुने संक्रमण (Candidiasis) पहिचान भएको थियो।
विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत ३५० जना बालबालिकाको आँखाको परीक्षण गरिएकोमा २८ जनालाई चस्मा वितरण गरिएको थियो। बालबालिकामा व्यक्तिगत सरसफाइको बानी विकास तथा स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले ३५० जनालाई सरसफाइ सामग्रीसमेत वितरण गरिएको थियो।
कार्यक्रमको शुभारम्भ तथा अनुगमन मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले गर्नुभएको थियो। उहाँले समुदायस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।
शिविर सञ्चालनमा Community Service Academy-Nepal (COSAN) ले सहयोग गरेको थियो।
कार्यक्रमबारे जानकारी दिँदै मेलम्ची नगरपालिकाका जनस्वास्थ्य निरीक्षक महेश सिंहले महिला प्रजनन स्वास्थ्य समस्याको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण र विद्यालय तहमा बालबालिकाको आँखाको स्वास्थ्य तथा सरसफाइ प्रवर्द्धन गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो।
नगरपालिकाले नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्दै रोगको समयमै पहिचान, रोकथाम तथा उपचारका लागि यस्ता जनस्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।


प्रतिक्रिया