एमालेको राष्ट्रिय भेलामा ओलीदेखि विद्यादेवी भण्डारीसम्मले सम्बोधन गर्ने
सारांश
- नेकपा एमालेको राष्ट्रिय भेलामा केन्द्रीय नेतृत्वदेखि स्थानीय तहका नेता तथा जनप्रतिनिधिसम्म गरी ३ हजार ४१४ जनाको सहभागिता रहने भएको छ।
- आगामी स्थानीय तह निर्वाचनको तयारीलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको भेलामा पार्टीका विभिन्न तहका नेता तथा जनप्रतिनिधि सहभागी हुने भएका हुन्।
- पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख नीरज आचार्यले भेलाको मुख्य उद्देश्य आगामी स्थानीय निर्वाचनको व्यवस्थित तयारी गर्नु रहेको जानकारी दिए।
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेलामा केन्द्रीय नेतृत्वदेखि स्थानीय तहका नेता तथा जनप्रतिनिधिसम्म गरी ३ हजार ४१४ जनाको सहभागिता रहने भएको छ। आगामी स्थानीय तह निर्वाचनको तयारीलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको भेलामा पार्टीका विभिन्न तहका नेता तथा जनप्रतिनिधि सहभागी हुने भएका हुन्।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख नीरज आचार्यले भेलाको मुख्य उद्देश्य आगामी स्थानीय निर्वाचनको व्यवस्थित तयारी गर्नु रहेको जानकारी दिए।
उनका अनुसार निर्वाचनको पूर्वतयारीलाई प्रभावकारी बनाउने, पार्टीका निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता कायम गर्ने तथा वैचारिक र सङ्गठनात्मक एकतालाई थप सुदृढ बनाउने भेलाको लक्ष्य छ। साथै, मुलुकमा पछिल्लो समय देखिएको कुशासन र निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने उद्देश्यसमेत भेलाले राखेको छ।
भेलामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित कुल ३ हजार ४१४ जनाको सहभागिता रहने आचार्यले बताए।
भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनले पार्टीका ‘दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ काम’ सहितको वैचारिक तथा राजनीतिक मार्गदर्शन प्रस्तुत गर्नेछन्।
त्यस्तै, पार्टीकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीको कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन्। भेलामा मुलुकको वर्तमान परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी महत्त्वपूर्ण कार्यपत्रसमेत प्रस्तुत गरिनेछ।
कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभाराबारे, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका महत्त्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षाबारे र महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
राष्ट्रिय भेलामा सहभागी सबैलाई अनिवार्य रूपमा स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा पेस गर्न आग्रह गरिएको आचार्यले बताए।

प्रतिक्रिया