मकवानपुरको भीमफेदीमा हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच जना घाइते
सारांश
- मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा हाइस गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।
- दुर्घटनामा पाँच जना घाइते भएका छन्।
- प्रहरीका अनुसार बिहीबार बिहान काठमाडौँबाट सर्लाहीका लागि आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस सडकबाट करिब ५०० मिटर तल खसेको हो।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा हाइस गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहीबार बिहान काठमाडौँबाट सर्लाहीका लागि आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस सडकबाट करिब ५०० मिटर तल खसेको हो। बिहान ५ः४५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका रहेका छन्। घाइते हुनेमा दुई बालक र तीन पुरुष छन्।
हाइसमा चालकसहित १५ जना सवार रहेको खुलेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि पठाइएको छ।
मृतक तथा घाइतेहरूको पहिचान र विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया