गाजामा शव गाड्न समेत पाइन छाड्यो ठाउँ

digitalchautari digitalchautari
|
आइतबार, भाद्र ७, २०८३
|
|
१.४K पटक हेरिएको
Shares
गाजामा शव गाड्न समेत पाइन छाड्यो ठाउँ

सारांश

  • इजरायली युद्धका कारण गाजामा हजारौँ शव अस्थायी स्थानमा गाडिएका छन् ।
  • अहिले नियमित चिहान स्थलमा समेत शव गाड्ने ठाउँको अभाव हुन थालेको छ ।
  • गाजाको ‘येलो लाइन’ नजिक गोली लागेर मारिएका आफ्ना बुबा मोहम्मदका लागि २० वर्षीय ओमर अल–सवहीलाई चिहान खोज्नुपर्‍यो ।

गाजापट्टी । इजरायली युद्धका कारण गाजामा हजारौँ शव अस्थायी स्थानमा गाडिएका छन् । अहिले नियमित चिहान स्थलमा समेत शव गाड्ने ठाउँको अभाव हुन थालेको छ । गाजाको ‘येलो लाइन’ नजिक गोली लागेर मारिएका आफ्ना बुबा मोहम्मदका लागि २० वर्षीय ओमर अल–सवहीलाई चिहान खोज्नुपर्‍यो ।

गाजा सिटीको जैतुन क्षेत्रमा बस्ने ४० वर्षीय मोहम्मद जुन १० मा सडकछेउको एउटा सानो चिया–कफी पसलमा काम गरिरहेका बेला घाँटीमा गोली लागेको थियो । गोली लागे लगत्तै उनको मृत्यु भएको थियो । बुबालाई गाड्न ओमर जैतुन चिहान स्थल पुगे । त्यहाँ चिहानहरू एक अर्काका निकै नजिक थिए । तीमध्ये धेरैजसो गाजामा जारी इजरायली युद्धमा मारिएका मानिसका थिए ।

ठाउँको अभाव र युद्धका कारण उत्पन्न कठिन परिस्थितिले गर्दा धेरै चिहानमा मृतकको नाम लेखिएको कागज ढुङ्गाले मात्रै थिचेर राखिएको छ । कतिपयको व्यवस्थित रूपमा चिहानसमेत बनाउन सकिएको छैन । ‘म चिहानस्थलको बिचमा उभिएँ र चारैतिर मैले धेरै चिहान देखेँ । त्यहाँ बालुवाका थुप्रा थिए र ती मुनि मानिसहरू गाडिएका थिए,’ ओमरले अल जजिरालाई बताए ।

‘एउटा चिहानमा सहिदको नाम लेखिएको कागजसहित एउटा ढुङ्गा मात्र थियो । युद्धअघि जस्तो चिहान बनाउने वा व्यवस्थित रूपमा तयार गर्ने अवस्था थिएन,’ उनले भने । गाजामा अहिले एउटा चिहान बनाउन करिब ५०० शेकेल अर्थात् १६७ डलर खर्च हुन्छ । उक्त रकम जुटाउन नसकेपछि ओमरको परिवारले अर्को विकल्प खोज्नुपर्‍यो । नयाँ चिहान बनाउन ठाउँ पनि थिएन । त्यसैले आमेरले पिताको शवलाई हजुर बुबाको चिहानमै गाडे ।

युद्धका बिच गाजामा स्वास्थ्य, स्थानीय प्रशासन लगायत सेवा प्रणाली लगभग ध्वस्त भइसकेका छन् । इजरायली आक्रमणको जोखिमका कारण युद्धका क्रममा हजारौँ मृत प्यालेस्टिनीलाई ‘बेपत्ता’ को सूचीमा राखिएको छ । तीमध्ये धेरैलाई घरका बगैँचा, पाल, विस्थापितहरूका शिविर, विद्यालय वा अस्पताल परिसरमै गाडिएको थियो । सन् २०२५ को अक्टोबरमा अमेरिकाको मध्यस्थतामा युद्धविराम भएपछि गाजामा इजरायली आक्रमण केही कम भएको छोटो अवधिमा परिवारहरूले भग्नावशेष वा अस्थायी चिहानबाट आफन्तका शव निकालेर अन्यत्र सार्न थाले ।

युद्धविराम घोषणा भएयता मात्रै कम्तीमा १ हजार २०० प्यालेस्टिनी मारिएका छन् र उनीहरू सबैका लागि चिहान चाहिएको छ । गाजाका अधिकारीहरूका अनुसार अस्पताल परिसरमा रहेका सात वटा सामूहिक चिहानबाट ५२९ प्यालेस्टिनीका शव निकालिएका छन् ।

इजरायली आक्रमण केही समय कम भएको मौका छोपेर मोहम्मदको परिवारले पनि उनको शव निकालेर अन्तिम संस्कारका लागि चिहान स्थलमा सारेको थियो । गाजामा चिहानको अभाव युद्ध सुरु भएयता मारिएका ७३ हजारभन्दा बढी प्यालेस्टिनीका कारण मात्रै भएको होइन । इजरायली आक्रमणबाट चिहान स्थलसमेत ध्वस्त भएका छन् ।

गाजाको धार्मिक मामिला तथा वक्फ मन्त्रालयका अनुसार युद्ध सुरु भएयता ४० भन्दा बढी चिहान स्थल नष्ट भएका छन् । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा चिहान स्थलमा जानमा कडा प्रतिबन्ध लगाएको छ ।

यसले शव गाड्ने ठाउँ झनै सीमित बनाएको छ । इजरायली बमबारी र विस्थापनका आदेशका कारण लाखौँ प्यालेस्टिनी घर छाड्न बाध्य भएका छन् । यस क्रममा पहिले चिहानका लागि छुट्याइएका कतिपय ठाउँ विस्थापितहरूका लागि आश्रय स्थलमा परिणत भएका छन् ।

गाजाका अधिकारीहरूका अनुसार चिहानको ढुङ्गा लगायत आवश्यक सामग्रीको अभावका कारण अहिले शव गाड्न ७०० शेकेल (२३५ डलर) देखि १ हजार शेकेल (३३५ डलर) सम्म खर्च हुन्छ । उचित चिहानको ढुङ्गा बनाउन पैसा जुटाउन नसक्दासम्म ध्वस्त भवनका इँटा–ढुङ्गा, माटो वा जस्तापातालाई अस्थायी चिहान चिन्हका रूपमा प्रयोग गर्ने गरिएको छ । गाजाका ६० वटा चिहान स्थलमध्ये धेरैजसो युद्ध सुरु हुनुअघि नै क्षमताको सीमामा पुगिसकेको वक्फ मन्त्रालयका सञ्चार अधिकारी इक्रामी अल–मदल्लालले बताए ।

‘उपलब्ध चिहानको ठाउँको अभावका कारण हामीले नयाँ चिहान स्थल बनाउन आवश्यक छ,’ उनले अल जजिरालाई भने । मन्त्रालयले नयाँ चिहानका लागि ठाउँ खोजिरहेको छ । अस्थायी रूपमा गाडिएका शवलाई चिहान स्थलमा सार्न पनि चुनौती बनेको छ । ‘शव सार्ने काम जथाभाबी गर्न मिल्दैन । यसका लागि वक्फ मन्त्रालय, स्थानीय सरकार र सम्बन्धित सरकारी निकायसँग समन्वय गर्नुपर्छ,’ मदल्लालले भने ।

गाजामाथिको युद्ध आफ्नो व्यावसायिक जीवनकै सबैभन्दा कठिन समय भएको विगत १९ वर्षभन्दा बढी समयदेखि शव गाड्ने काम गर्दै आएका ५० वर्षीय तफेश अबु हाताबले बताए । उनी काम गर्ने खान युनिस चिहान स्थलमा युद्ध सुरु हुँदा करिब ६० वटा चिहान थिए ।

अहिले त्यहाँ करिब ६ हजार चिहान छन् । युद्धको एक चरणमा तफेशले दैनिक करिब ३५ वटा चिहान खन्नुपरेको थियो । ‘यति भयावह रक्तपात भएको समय हामीले कहिल्यै देखेका थिएनौँ,’ उनले भने, ‘दर्जनौँ सहिदलाई गाड्न नपरेको दिन नै हुँदैन’ ।

उनले गाड्ने अधिकांश शव महिला र बालबालिकाका हुने बताए । तीमध्ये नवजात शिशुसमेत हुन्छन् । इजरायली बमले पूरै भवन, सवारी साधन वा पाल ध्वस्त पार्दा कहिलेकाहीँ एउटै परिवारका सबै सदस्यका शव चिहान स्थलमा आइपुग्छन् । ‘उनीहरूले हाम्रा घर हाम्रै टाउकोमाथि ढालिदिन्छन् र त्यही घरको भग्नावशेषबाट हामी आफ्ना चिहान बनाउँछौँ,’ तफेशले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ क्षेत्रको नाफा ३२.२७% ले बढ्यो: नबिल पहिलो, हिमालयन र कुमारीको आक्रामक पुनरागमन
आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ क्षेत्रको नाफा ३२.२७% ले बढ्यो: नबिल पहिलो, हिमालयन र कुमारीको आक्रामक पुनरागमन
भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना
भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना
एनएफआरएस १७ तत्काल लागू गर्न बीमक असमर्थ, समय थप्ने प्रस्ताव बोर्डमा लैजाँदै प्राधिकरण
एनएफआरएस १७ तत्काल लागू गर्न बीमक असमर्थ, समय थप्ने प्रस्ताव बोर्डमा लैजाँदै प्राधिकरण
इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम
इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम
सुकुम्बासी बस्ती हटाउँदै सरकार: स्थानान्तरण हुनेलाई दुई दिन खाना र आधारभूत सुविधा व्यवस्था
सुकुम्बासी बस्ती हटाउँदै सरकार: स्थानान्तरण हुनेलाई दुई दिन खाना र आधारभूत सुविधा व्यवस्था
भान्छाको खर्च बढ्यो भन्दै हुनुहुन्छ? ४९ वस्तुको मूल्य अध्ययनले खोल्यो यस्तो तथ्य
भान्छाको खर्च बढ्यो भन्दै हुनुहुन्छ? ४९ वस्तुको मूल्य अध्ययनले खोल्यो यस्तो तथ्य
दशैंअघि राष्ट्र बैंकको नयाँ व्यवस्था : अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँ
दशैंअघि राष्ट्र बैंकको नयाँ व्यवस्था : अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँ
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
बजारमा एलपी ग्यासको अभाव
बजारमा एलपी ग्यासको अभाव

तपाईंले छुटाउनुभयो कि?