सातै प्रदेशमा विशेषज्ञ जलन उपचार सेवा विस्तार गरिँदै, चिकित्सकलाई विशेष तालिम
सारांश
- सरकारले सातवटै प्रदेशमा जलन उपचार सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले दक्ष जनशक्ति उत्पादन तथा उपचार सेवा विस्तारको तयारी थालेको छ।
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात प्रदेशका प्रमुख अस्पतालमा जलनको ‘स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकलअनुसार लेभल–३’ उपचार सेवा विस्तार गर्न लागेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा.
- कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
काठमाडौं । सरकारले सातवटै प्रदेशमा जलन उपचार सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले दक्ष जनशक्ति उत्पादन तथा उपचार सेवा विस्तारको तयारी थालेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात प्रदेशका प्रमुख अस्पतालमा जलनको ‘स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकलअनुसार लेभल–३’ उपचार सेवा विस्तार गर्न लागेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
यसका लागि सम्बन्धित अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एड्भान्स बर्न केयर (उन्नत जलन उपचार) सम्बन्धी तालिमसमेत सञ्चालन गरिएको उनले बताए।
सरकारले कोशी प्रदेशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशको नारायणी अस्पताल वीरगञ्ज, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती अस्पतालमा जलन उपचार सेवा विस्तार गर्ने योजना बनाएको छ।
डा. पौडेलका अनुसार हाल ती अस्पतालमा सामान्य जलन उपचार सेवा उपलब्ध भए पनि तालिमप्राप्त जनशक्ति तयार भएपछि लेभल–३ सम्मको उपचार सेवा प्रदान गर्ने तयारी गरिएको छ।
मन्त्रालयले पहिलो चरणमा नारायणी अस्पताल वीरगञ्ज र सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि ३० दिने जलन उपचारसम्बन्धी तालिम सञ्चालन गरेको छ। यसअघि सम्बन्धित अस्पतालका स्वास्थ्यकर्मीलाई छदिने प्राथमिक जलन उपचार तालिम प्रदान गरिएको थियो।
३० दिने तालिममा नारायणी अस्पताल वीरगञ्जबाट डा. प्रदीपकुमार ठाकुर, नगेन्द्र महतो, तबसुम बेगम र यस्मिन खातुन सहभागी भएका थिए। त्यस्तै, सुर्खेत प्रदेश अस्पतालबाट डा. सोजन सापकोटा, रोशनी श्रेष्ठ, दलबहादुर विक र सुमन कँडेल सहभागी भएका थिए।
तालिमबाट जलनको स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकलअनुसार लेभल–३ उपचार सेवा प्रदान गर्न सक्ने दक्ष जनशक्ति तयार हुने अपेक्षा गरिएको छ। तालिम प्राप्त जनशक्तिले सम्बन्धित अस्पतालमा जलन उपचार वार्ड स्थापना तथा गुणस्तरीय उपचार सेवा सञ्चालनमा सहयोग गर्नेछन्।
मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा तालिम सञ्चालन गरेको हो।
महानिर्देशक डा. पौडेलले पहिलो चरणको तालिमपछि तिहारलगत्तै क्रमशः अन्य प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि जलन उपचारसम्बन्धी तालिम प्रदान गरिने जानकारी दिएका छन्।
सरकारको यो पहल कार्यान्वयनमा आएपछि जलनका बिरामीले उपचारका लागि राजधानी वा ठूला सहर धाउनुपर्ने बाध्यता कम हुनुका साथै प्रदेशस्तरमै विशेषज्ञ उपचार सेवा पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया