लोडसेडिङ अन्त्यपछि अब बेथिति र भ्रष्टाचारको अन्धकार हटाउने कुलमानको संकल्प
सारांश
- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अन्त्य गर्ने संकल्प व्यक्त गरेका छन्।
- तिहारको उज्यालो पर्वसँगै विगतको लोडसेडिङको अवस्थालाई स्मरण गर्दै घिसिङले २०७३ सालअघिको कठिन समय सम्झिएका छन्।
- त्यतिबेला उज्यालोको पर्व तिहारसमेत अन्धकारमै मनाउनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरेका छन्।
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अन्त्य गर्ने संकल्प व्यक्त गरेका छन्।
तिहारको उज्यालो पर्वसँगै विगतको लोडसेडिङको अवस्थालाई स्मरण गर्दै घिसिङले २०७३ सालअघिको कठिन समय सम्झिएका छन्। त्यतिबेला उज्यालोको पर्व तिहारसमेत अन्धकारमै मनाउनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरेका छन्।
आफूहरूप्रतिको नागरिकको साथ, विश्वास र दृढ संकल्पका कारण असम्भवजस्तै मानिएको लोडसेडिङ अन्त्य गर्न सफल भएको उनको भनाइ छ। अहिले देशका अधिकांश घरधुरीमा विद्युत् सेवा पुगेको र नेपाली बिजुली विदेशसम्म निर्यात हुन थालेको उनले बताएका छन्।
‘हिजो बिजुलीको अँध्यारो हटायौँ, अब बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प छ,’ घिसिङले आफ्नो शुभकामना सन्देशमा भनेका छन्।
जस्तोसुकै चुनौती आए पनि आफ्नो यात्रा नरोकिने स्पष्ट पार्दै उनले अँध्यारोलाई सरापेर मात्र परिवर्तन सम्भव नहुने बताएका छन्। अँध्यारो हटाउन आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्ने उनको धारणा छ।
विगतमा प्राप्त साथ र विश्वासप्रति नागरिकलाई धन्यवाद दिँदै घिसिङले अब सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणको अभियानमा पनि सबैको सहयोग र साथ आवश्यक रहेको बताएका छन्।
उनले तिहार, नेपाल संवत् र छठ पर्वले सबैको जीवनमा खुसी, आशा र समृद्धिको उज्यालो ल्याओस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया