तिहार लक्षित मिठाई पसलमा कडा निगरानी, नियम उल्लंघन गर्नेलाई लाइसेन्स खारेजीसम्मको चेतावन
सारांश
- तिहार पर्वलाई लक्षित गर्दै सरकारले मिठाई पसल तथा मिठाई उत्पादन गर्ने उद्योगमाथिको बजार अनुगमनलाई तीव्र बनाएको छ।
- चाडपर्वको समयमा मिठाईको माग बढ्ने र यही अवसरमा अखाद्य वस्तु मिसावट गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निगरानी कडा पारेको हो।
- तिहारमा मिठाईको कारोबार अत्यधिक हुने भएकाले विगतका वर्षमा गुणस्तरहीन सामग्री, म्याद गुज्रिएका खाद्यवस्तु तथा प्रतिबन्धित रङ प्रयोग गरी मिठाई बिक्री गर्ने गरेको पाइएको थियो।
काठमाडौं । तिहार पर्वलाई लक्षित गर्दै सरकारले मिठाई पसल तथा मिठाई उत्पादन गर्ने उद्योगमाथिको बजार अनुगमनलाई तीव्र बनाएको छ। चाडपर्वको समयमा मिठाईको माग बढ्ने र यही अवसरमा अखाद्य वस्तु मिसावट गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निगरानी कडा पारेको हो।
तिहारमा मिठाईको कारोबार अत्यधिक हुने भएकाले विगतका वर्षमा गुणस्तरहीन सामग्री, म्याद गुज्रिएका खाद्यवस्तु तथा प्रतिबन्धित रङ प्रयोग गरी मिठाई बिक्री गर्ने गरेको पाइएको थियो। कतिपय व्यवसायीले पटक–पटक प्रयोग गरिएको पुरानो तेल तथा अखाद्य पदार्थ मिसाएर मिठाई उत्पादन गर्ने गरेको अनुगमनका क्रममा खुलेको थियो।
गत वर्ष विभागले काठमाडौं उपत्यकाका ५३ वटा ठूला तथा चर्चित मिठाई पसलमा गरेको अनुगमनका क्रममा अधिकांशमा खाद्य स्वच्छतासम्बन्धी कमजोरी भेटिएको थियो। प्रयोग गरिएको तेलको गुणस्तर, प्रतिबन्धित रङको प्रयोग, भान्साको सरसफाइ तथा मिठाई भण्डारणमा गम्भीर लापरबाही देखिएको थियो। केही पसलमा बिक्रीका लागि राखिएका मिठाईमा झिँगा र साङ्लोसमेत भेटिएका थिए।
यस वर्ष भने यस्ता समस्या दोहोरिन नदिन विभागले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याउँदै मिठाई उत्पादक तथा विक्रेतालाई कडाइ गरेको छ।
मिठाईमा पाँच प्रकारका विवरण अनिवार्य
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ र उपभोक्ता संरक्षण ऐनलाई आधार मानेर विभागले मिठाई व्यवसायीका लागि नयाँ व्यवस्था लागू गरेको हो। कात्तिक ११ गतेदेखि लागू भएको व्यवस्थाअनुसार बिक्रीमा राखिएका मिठाईमा उपभोक्ताले सहजै देख्ने गरी पाँचवटा विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
नयाँ मापदण्डअनुसार मिठाईको नाम, उत्पादनमा प्रयोग भएका मुख्य कच्चापदार्थ, प्रयोग गरिएको तेल वा घिउको प्रकार, उपभोग्य अवधि तथा प्रतिकिलो मूल्य स्पष्ट रूपमा राख्नुपर्नेछ।
त्यस्तै, मिठाई बनाउन प्रयोग गरिएका कच्चापदार्थसमेत उपभोक्ताले देख्न सक्ने गरी पसलको शोकेस वा काउन्टरमा राख्नुपर्ने व्यवस्था गरिएको छ। यसबाट उपभोक्ताले आफूले खरिद गर्न लागेको मिठाईको गुणस्तर र त्यसमा प्रयोग भएका सामग्रीबारे जानकारी पाउने विभागको अपेक्षा छ।
विभागले मापदण्ड कार्यान्वयन भए–नभएको नियमित अनुगमन गर्ने जनाएको छ। अनुगमनका क्रममा मिठाईको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिनेछ। विवरणमा उल्लेख नभएका सामग्री प्रयोग गरेको, प्रतिबन्धित रङ मिसाएको वा बिग्रिएको तेल प्रयोग गरेको पाइएमा कानुनअनुसार कारबाही गरिनेछ। गम्भीर उल्लंघन गर्ने व्यवसायीको अनुमतिपत्र खारेज गर्नेसम्मको चेतावनी विभागले दिएको छ।
देशभर ४९७ मिठाई पसलमा अनुगमन
विभागले नयाँ मापदण्ड कार्यान्वयनसँगै देशभर मिठाई पसलको अनुगमनलाई तीव्रता दिएको छ। विभागको पछिल्लो विवरणअनुसार हालसम्म देशभरका ४ सय ९७ मिठाई पसलमा विशेष अनुगमन गरिएको छ।
अनुगमनका क्रममा विभिन्न कमजोरी भेटिएपछि ४ सय ३३ पसललाई सचेत गराउँदै सुधारका लागि निर्देशनपत्र दिइएको छ। प्रदेशगत विवरणअनुसार कोशीमा ८४, मधेसमा ५६, बागमतीमा ५३, लुम्बिनीमा १ सय ७५, गण्डकीमा २६, कर्णालीमा २४ र सुदूरपश्चिममा १५ वटा पसललाई निर्देशन दिइएको हो।
अनुगमन गरिएका पसलमध्ये २ सय २२ वटाले नयाँ मापदण्डअनुसार आवश्यक विवरण राख्ने व्यवस्था कार्यान्वयन गरिसकेका छन्। अन्य पसललाई पनि सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार देशभरका ३० वटा कार्यालयमार्फत खाद्य निरीक्षक परिचालन गरी अनुगमन भइरहेको छ। स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागसँगको समन्वयमा बजार अनुगमनलाई प्रभावकारी बनाइएको उनले बताए।
उनका अनुसार तिहारका बेला मिठाईको खपत बढ्ने भएकाले उपभोक्तालाई गुणस्तरीय र सुरक्षित खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।
नयाँ व्यवस्था कार्यान्वयनका लागि व्यवसायीलाई दिइएको समयसीमा समाप्त भइसकेकाले अब नियम पालना नगर्ने पसलमाथि थप कडा कदम चालिने विभागले जनाएको छ। नियम उल्लंघन गर्ने व्यवसायीमाथि खाद्य ऐन तथा उपभोक्ता संरक्षण ऐनअनुसार मुद्दा दायर गर्ने र तत्काल जरिबाना गर्ने प्रक्रिया अघि बढाइने महानिर्देशक कर्णले जानकारी दिए।
यसैबीच, चाडपर्वलाई लक्षित गरी असोज १५ देखि ३१ गतेसम्म मिठाई, खाद्यान्न, दाना तथा होटल क्षेत्रमा गरिएको अनुगमनमा १ हजार ७ सय ५१ वटा स्थल निरीक्षण गरिएको छ। नियमविपरीत काम गर्ने व्यवसायीबाट हालसम्म १० लाख ७६ हजार रुपैयाँभन्दा बढी जरिबाना असुल गरिएको विभागले जनाएको छ।
पूजा गर्ने घिउमा पनि अखाद्य पदार्थको जोखिम
तिहारमा मिठाईसँगै पूजाआजा तथा दीप प्रज्वलनका लागि घिउको प्रयोग पनि बढ्ने गर्छ। यही अवसरमा सस्तो मूल्यको प्रलोभन देखाएर ‘पूजा गर्ने घिउ’का नाममा अखाद्य चिल्लो पदार्थ तथा बोसो बिक्री भइरहेको गुनासो आएपछि विभागले त्यसतर्फ पनि निगरानी बढाएको छ।
महानिर्देशक कर्णका अनुसार बजारका केही पूजा सामग्री पसलमा वास्तविक घिउको सट्टा अखाद्य बोसोजन्य पदार्थ बिक्री भइरहेको पाइएको छ। त्यस्ता वस्तु बजारबाट जफत गर्ने, फिर्ता पठाउने तथा नष्ट गर्ने काम भइरहेको विभागले जनाएको छ।
मिठाई किन्दा उपभोक्ता आफैं पनि सचेत बनौं
सरकारले बजार अनुगमन र कानुनी कारबाहीलाई तीव्र बनाए पनि खाद्यवस्तुको गुणस्तर सुनिश्चित गर्न उपभोक्ता स्वयं पनि सचेत हुन आवश्यक छ।
मिठाई खरिद गर्दा त्यसमा प्रयोग गरिएको तेल वा घिउको प्रकार, कच्चापदार्थ, उत्पादन तथा उपभोग्य अवधि र मूल्यबारे जानकारी लिनुपर्छ। पसलमा आवश्यक विवरण स्पष्ट रूपमा नराखिएको वा मिठाईको सरसफाइ तथा गुणस्तरमा शंका लागेमा त्यस्ता वस्तु खरिद नगर्नु उपयुक्त हुन्छ।
सरकारले तोकेको मापदण्ड पालना नगर्ने व्यवसायीबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नजिकको प्रहरी वा प्रशासन कार्यालयमा जानकारी गराउन पनि सकिन्छ।
तिहार उज्यालो, खुसी र आपसी सद्भावको पर्व हो। त्यसैले चाडपर्वको रमझमसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकता दिन आवश्यक छ। मिसावटयुक्त तथा अखाद्य मिठाईबाट बच्दै गुणस्तरीय खाद्यवस्तुको प्रयोग गरेर सुरक्षित र स्वस्थ तिहार मनाउनु सबैको साझा जिम्मेवारी हो।

प्रतिक्रिया