नेशनल लाइफको खुद नाफा १०.७९ प्रतिशतले घट्यो, बीमाशुल्क आर्जनमा ३० प्रतिशत वृद्धि
सारांश
- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ।
- कम्पनीले साउनदेखि असोज मसान्तसम्म १२ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
- गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ। कम्पनीले साउनदेखि असोज मसान्तसम्म १२ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यससँगै अघिल्लो वर्षको तुलनामा चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफा १०.७९ प्रतिशतले घटेको हो।
नाफामा गिरावट आए पनि कम्पनीको बीमाशुल्क आर्जनसहित अधिकांश वित्तीय सूचकमा भने सुधार देखिएको छ। कम्पनीको खुद बीमाशुल्क आर्जन ३०.१३ प्रतिशतले बढेर ७ अर्ब १९ करोड ५६ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यस्तो आर्जन ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ थियो।
त्यस्तै, लगानी तथा कर्जाबाट प्राप्त आम्दानी पनि बढेको छ। गत आवमा १ अर्ब ४१ करोड ४६ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालू आवमा बढेर १ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको कुल आम्दानी २५.८९ प्रतिशतले वृद्धि भई ९ अर्ब २० करोड ४४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी ७ अर्ब ३१ करोड १४ लाख रुपैयाँ रहेको थियो।
यद्यपि, आम्दानीसँगै कम्पनीको खर्चमा पनि वृद्धि भएको छ। समीक्षा अवधिमा कुल खर्च २८.०९ प्रतिशतले बढेर ८ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यस्तो खर्च ६ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ थियो।
त्यसैगरी, अभिकर्ता कमिशन खर्च पनि २१.२१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ४७ करोड ७१ लाख रुपैयाँ रहेको यस्तो खर्च चालू आवमा बढेर ५७ करोड ८४ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँमा यथावत् रहेको छ। समीक्षा अवधिमा विपत्ति कोष १.७० प्रतिशतले बढेर ७५ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष २३.५० प्रतिशतले वृद्धि भई ६० करोड ४९ लाख रुपैयाँ कायम भएको छ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो आवको पहिलो त्रैमासमा १० रुपैयाँ ३० पैसा रहेको प्रतिशेयर आम्दानी चालू आवमा घटेर ८ रुपैयाँ ८३ पैसा कायम भएको छ।

प्रतिक्रिया