काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्
सारांश
- काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सको नेपाल प्रिमियर लिग (एनपीएल) मा जारी अपराजित यात्रा समाप्त भएको छ।
- एनपीएलमा लुम्बिनी १२औँ खेलमा आएर पहिलोपटक पराजित भएको हो।
- अघिल्लो सिजनका सात खेलमा पनि लुम्बिनी अपराजित रहेको थियो।
काठमाडौं। काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सको नेपाल प्रिमियर लिग (एनपीएल) मा जारी अपराजित यात्रा समाप्त भएको छ। एनपीएलमा लुम्बिनी १२औँ खेलमा आएर पहिलोपटक पराजित भएको हो। अघिल्लो सिजनका सात खेलमा पनि लुम्बिनी अपराजित रहेको थियो।
यस हारसँगै लुम्बिनीको प्लेअफ यात्रा केही लम्बिएको छ। दुई खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने उसको सम्भावनामा धक्का लागेको छ। यता, जितसँगै काठमाडौं गोर्खाज अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै समेटियो। सुरुवातमै धरमराएको लुम्बिनीले पावरप्लेभित्रै ६ विकेट गुमाउँदा मात्र ३४ रन बनाएको थियो।
लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए। अविशेष गौतमले १६, निरोशन डिकवेल्लाले १४ र रुवेन ट्रम्पलम्यानले ११ रनको योगदान दिए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
काठमाडौंका जहानदाद खानले चार विकेट लिए भने करण केसीले दुई विकेट हात पारे। साहब आलम, सन्तोष यादव, सेहान र रासिद खानले समान एक–एक विकेट लिए।
त्यसअघि टस जितेर लुम्बिनीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनाएको थियो।
काठमाडौंका ओपनर डेविड वार्नर र शाहिल पटेलले पहिलो विकेटका लागि १३.२ ओभरमा १०४ रनको उत्कृष्ट साझेदारी गरेका थिए। शाहिलले ३६ बलमा दुई चौका र दुई छक्कासहित ३८ रन बनाए। उनी शेर मल्लको बलमा रोहित पौडेलबाट क्याच आउट भए।
त्यस्तै, वार्नरले ४९ बलमा नौ चौका र एक छक्काको मद्दतमा ६६ रन बनाए। उनी पनि शेर मल्लकै बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। सहान ३४ रनमा अविजित रहे।
कप्तान करण केसीले नौ रन बनाउँदा जहानदाद खानले ६ र रासिद खानले दुई रन जोडे। विलियम बसिस्टो भने पहिलो बलमै आउट भए।
लुम्बिनीका लागि शेर मल्ल, अविशेष गौतम र रुवेन ट्रम्पलम्यानले समान दुई–दुई विकेट लिए।
प्रतिक्रिया