पाँचतारेमा दुईवटा होटल थपिँदा ४ वटाको तारा वर्गीकरण निलम्बन

१७ माघ २०८०, बुधबार ०२:०५

काठमाडौं । नेपालमा दुईवटा पाँचतारे होटल थपिएका छन् भने ४ वटाको पाँचतारे वर्गीकरण नै निलम्बनमा परेको छ । लाजिम्पाटमा दूषित प्रिन्सेस नामले सञ्चालनमा आएको होटल ल्हासा इन्टरनेसनल पाँचतारेमा सूचीकृत भएको छ ।

१०७ कोठाको यो होटल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा दर्ता हुनासाथ पाँचतारेमा सूचीकृत भएको हो । यसले निर्माण प्रक्रिया पूरा गर्दा नै पाँचतारे अनुसारकै शर्त पूरा गर्दै गएकोले होटल वर्गीकरणबाट ५ तारे भएको पर्यटन विभागले जानकारी दिएको छ ।

गैरआवासी नेपालीको लगानीमा सञ्चालित धुम्बाराहीस्थित होटल अकामा पनि पाँच तारे भएको छ । चार तारेमा दर्ता भएर सञ्चालनमा आएको यो होटल ४ वर्षपछि पाँचतारेमा स्तरोन्नती भएको हो । यसले आवश्यक सेवा सुविधा थप गरेसँगै तोकिएको शर्त पूरा गरेर स्तरोन्नती भएको पर्यटन विभागका शाखा अधिकृत प्रयास भट्टराईले बताए ।

सञ्चालनमा आउँदै १०७ कोठा रहेको यो होटलमा अन्य सुविधा नपुगेका कारण स्तर वर्गीकरणमा चारतारे भएको थियो । पछिल्लो समय यसले अरु सेवा सुविधा बढाएको छ । काठमाडौं उपत्यकामा सञ्चालित पाँचतारे होटलको न्यूनतम कोठा संख्या १०० वटा हुनुपर्छ ।

विभागका अनुसार यो वर्ष दुईवटा पाँचतारे होटल थप भए पनि यस अघिका ४ वटा पाँचतारे होटलको भने स्तर वर्गीकरण नै निलम्बनमा परेको छ । तोकिएको शर्त पालना नगरेको र सरकारी बाँकी बक्यौता तिर्नुपर्नेले नतिरेका कारण पाँचतारेमा सञ्चालनमा आइसकेका होटलको स्तर वर्गीकरण निलम्बनमा परेको हो ।

पर्यटन विभागकाअनुसार बानेश्वरमा सञ्चालनमा रहेको दि एभरेष्ट होटल, दरबारमार्गको याक एण्ड यती, लाजिम्पाटको ओरियन्टल होटल (र्‍याडिसन) र उपत्यका बाहिर कास्कीमा सञ्चालन हुन नसकेको फूलबारी रिसोर्टको तारा वर्गीकरण निलम्बनमा छ । फूलबारी रिसोर्ट एक दशकभन्दा लामो समयदेखि बन्द छ भने सञ्चालनमा रहेको अन्य तीन वटाको पनि वेवास्ताकै कारण पाँचतारे वर्गीकरण निलम्बनमा छ ।