बढ्यो सेयर धितो कर्जा, एक करोड माथि लिने १६ प्रतिशत

२८ फाल्गुन २०८०, सोमबार ११:५१

काठमाडौं । पछिल्लो समय सेयर धितोमा बढ्दै गएको छ । चालु आर्थिक बर्षको ७ महिनामा सेयर धितो कर्जा ११.६ प्रतिशतले बढेको छ । माघ मसान्तसम्म सेयर धितो कर्जा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन गत असार मसान्तसम्म ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ थियो । सात महिनाको अवधिमा ८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ प्रवाह भएको छ ।

७ महिनामा औसत सेयर धितो कर्जा ११.६ प्रतिशतले बढेपनि १ करोड माथिको सेयर धितो कर्जा भने १६.९ प्रतिशतले बढेको छ । माघ मसान्तसम्म १ करोडमाथिको सेयर धितो कर्जामा कुल ५२ अर्ब २६ करोड ९५ लाख रुपैयाँ प्रवाह भएको छ । जबकि गत असार मसान्तसम्म १ करोडमाथिको कर्जा प्रवाह ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो ।

५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा ११ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ प्रवाह भएको छ । यो सीमाको कर्जा ७ महिनामा १.२ प्रतिशतले मात्रै बढेको छ । त्यस्तै २५ देखि ५० लाखसम्मको सेयर धितो कर्जा प्रवाह ७ महिनामा ८.३ प्रतिशतले बढेर १३ अर्ब ८४ करोड ७८ लाख पुगेको छ । २५ लाखमुनिको कर्जा प्रवाह भने जम्मा १.५ प्रतिशत मात्रै बढेको छ । यस्तो कर्जा माघ मसान्तसम्म कुल ७ अर्ब १३ करोड ९४ लाख रुपैयाँ प्रवाह भएको छ ।

हाल ५० लाखमुनिको सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशत कायम गरिएको छ भने सोभन्दा माथिको कर्जामा १२५ प्रतिशत छ । उच्च जोखिमभारका वावजुत पनि ठूलो सेयर धितो कर्जा प्रवाह वृद्धिदर उच्च देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर कारोबारका लागि एक व्यक्तिले अधिकतम १५ करोड तथा संस्थाले २० करोड रुपैयाँ मात्रै कर्जा लिन पाउने व्यवस्था छ । लगानीकर्ताले सेयर कर्जामा १५ र २० करोडको सीमा हटाउनुपर्ने माग गर्दै आएका छन् ।