उपनिर्वाचनमा इलाम-२ मा मात्र उम्मेदवारी दिने रास्वपाको निर्णय

२८ फाल्गुन २०८०, सोमबार ११:५४

काठमाडौं,२८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न उपनिर्वाचनमा इलाम २ मा मात्र उम्मेदवारी दिने निर्णय गरेको छ ।

आगामी वैशाख १५ गते इलाम-२ र बझाङ प्रदेश सभा-२ मा पनि निर्वाचन हुँदैछ तर, आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले इलाम २ मा मात्र उम्मेदवारी दिने निर्णय गरेको हो ।

नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम-२ रिक्त रहेको छ भने सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री रहेका पृथ्वीबहादुर सिंहको निधनपछि बझाङको प्रदेश सभा ख पनि रिक्त छ ।

रास्वपा गत मंसिरमा प्रदेशको निर्वाचनमा सहभागी भएको थिएन । सत्ता गठबन्धनमा भएपनि एक्लै लड्ने घोषणा गरेर रास्वपाले इलाम २ मा निर्वाचनको तयारी थालिसकेको छ । बैठकले उम्मेदवारबारे टुंगो लगाएको छैन ।

रास्वपाले इलाम २ को निर्वाचनको लागि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कमाण्डर बनाएर यसअघि नै पठाइसकेका छ ।