शिक्षामन्त्री श्रेष्ठद्वारा पदबहाली :

२३ फाल्गुन २०८०, बुधबार १७:५४

काठमाडौँ, २३ फागुन : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मुलुकका ११ वटै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने विद्यमान व्यवस्था हटाइ विज्ञहरूलाई राख्न सम्बन्धित कानुनमा संशोधनको प्रक्रिया अघि बढाउने बताउनुभयो ।सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै मन्त्री श्रेष्ठले नेपाली युवालाई स्वदेशमै सहजरुपमा गुणस्तरीय शिक्षा दिन र विश्वविद्यालयमा हुने राजनीतिकरण रोक्न मौजुदा कानुनमा संशोधनको प्रारम्भिक काम गर्न निर्देशन दिनुभयो । सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले युवाहरु उच्च शिक्षाका लागि किन विदेश जान्छन् भन्ने विषयमा सर्वेक्षण गरी नीतिगत निर्णय लिने, शिक्षामा सुधार गर्न तथा अन्य सवालमा मन्त्रालयका अधिकारीसँग छलफल गरी प्राथमिकताका विषय तय गर्ने जानकारी दिनुभयो ।