अर्थमन्त्री सचिवालयको सक्रियतामा ई–रिक्सा ब्याट्रीको मूल्यांकन १०० बाट ७५ डलर

१८ माघ २०८०, बिहीबार ०१:३४

काठमाडौं। सरोकारवाला निकायलाई जानकारी नै नदिई भन्सार कार्यालयले ई–रिक्सा ब्याट्रीको मूल्यांकन दर घटाएको पाइएको छ। यसअघि १०० अमेरिकी डलर रहेको भन्सार मूल्यांकन घटाएर ७५ डलर कायम गरिएको हो।

ई–रिक्सा ब्याट्रीको मूल्यांकन दर घटाउन अर्थमन्त्री डा. प्रकाशशरण महतको सचिवालयले भूमिका खेलेको आशंका छ। बंगलादेशबाट ई–रिक्सा ब्याट्री आयातकर्ताका अनुसार प्रतिब्याट्रीको मूल्य ९०–९२ डलरसम्म पर्छ। तर, भन्सारमा मूल्यांकन भने १०० डलरमा हुँदै आएको थियो।

भन्सार कार्यालयले तालुकवाला अड्डा भन्सार विभागलाई समेत सोध्दै नसोधी भन्सार मूल्यांकन घटाएको विभागका एक अधिकारीले बताए। ‘अर्थमन्त्री महतको सचिवालयमा क्रियाशील व्यक्तिहरुले सीधै भन्न्सार कार्यालयलाई भनेर मूल्यांकन घटाउन लगाएको हुन सक्छन्,’ विभाग उच्च स्रोतले भन्यो, ‘मूल्यांकन घटेको विषयमा अर्थमन्त्री पनि जानकार रहेको पाएनौं। त्यसैले सचिवालयका कर्मचारीको संलग्नता हुन सक्छ।’

भन्सार कार्यालयलाई कुनै वस्तु आयात गर्दा अन्तर्राष्ट्रिय बजारलाई हेरेर भन्सार मूल्यांकन दर परिवर्तन सक्ने अधिकार छ। ‘यसरी मूल्यांकन दर परिवर्तन गर्दा ३ महिने आयातको वास्तविक स्थिति अध्ययन गरी माथिल्लो निकायलाई जानकारी गराउने र माथिल्लो निकायले अनुमति दिएपछि हेरफेर गर्ने प्रचलन छ,’ स्रोतले भन्यो, ‘तर, यसपटक कहीँकतै जानकारी नदिई मूल्यांकन दर घटाउँदा राजस्वमा क्षति भएको अनुमान छ।’

सीमित आयातकर्ता व्यापारीसँग साँठगाँठ गरेका सचिवालयका कर्मचारीले भन्सार अधिकृतलाई उपयोग गरेर मूल्यांकन घटाएको हुन सक्ने ती अधिकारीको भनाइ छ।

कतिपय आयातकर्ताले भन्सार दर परिवर्तन गराउन अर्थमन्त्री निकट व्यक्तिहरुले भन्सार अधिकृतलाई सीधै फोन गर्ने गरेको बताउँछन्। त्यसो त, व्यवसायी पनि सकेसम्म आफ्नो काम फत्ते गर्न सम्बन्धित निकायका सबै संयन्त्र प्रयोग गर्ने र नसकेपछि विभिन्न बहाना बनाएर हल्ला चलाउने गर्छन्।