काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत क्यानका पदाधिकारीले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।
बिदाइ कार्यक्रममा क्यान अध्यक्ष चन्दले नेपाली खेलाडी पछिल्लो समय उच्च लयमा रहेकाले लिग–२ शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै टोलीलाई शुभकामना दिए।
लिग–२ अन्तर्गत नेपालले ओमानमा घरेलु टोली ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले असोज २५ गते क्यानडासँग पहिलो खेल खेल्नेछ। त्यसपछि असोज २७ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले असोज ३१ गते क्यानडासँग दोस्रो खेल तथा कात्तिक २ गते ओमानसँग पुनः खेल्ने तालिका छ।
विश्वकप क्रिकेट लिग–२ मा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने अभियानका लागि यो शृङ्खला महत्वपूर्ण मानिएको छ। त्यसैले ओमानमा हुने चार खेलमा नेपालको प्रदर्शनलाई विशेष चासोका साथ हेरिएको छ।












