काठमाडौं । दक्षिण एसियाका अधिकांश मुलुकका सेयर बजार पछिल्ला महिनामा दबाबमा परेका छन्। भारत, श्रीलंका, बंगलादेश, नेपाल, पाकिस्तान, माल्दिभ्स र भुटानका प्रमुख सेयर सूचकांकमा अपेक्षित सुधार आउन सकेको छैन।
कतिपय बजार बहुवर्षीय न्यून विन्दुमा पुगेका छन् भने केही बजार लामो समयदेखि साइडवेज अवस्थामा छन्। विश्व वित्तीय बजारमा देखिएको अस्थिरता, विदेशी लगानीकर्ताको बिक्री चाप, बलियो अमेरिकी डलर र उच्च ब्याजदरको प्रभाव दक्षिण एसियाली बजारमा परेको विश्लेषण गरिएको छ।
भारतमा सेन्सेक्स ३२ महिनाकै न्यून
क्षेत्रकै ठूलो भारतीय सेयर बजारमा पछिल्लो समय तीव्र गिरावट देखिएको छ। बम्बे स्टक एक्सचेन्ज (बीएसई) को प्रमुख सूचकांक सेन्सेक्स २०२४ फेब्रुअरीपछि पहिलोपटक ७२ हजार विन्दुभन्दा तल झरेको छ।
अक्टोबर १ मा सेन्सेक्स ७१ हजार ९०९ विन्दुमा बन्द भएको थियो। यो पछिल्ला करिब ३२ महिनाकै न्यून स्तर हो।
त्यस्तै, नेसनल स्टक एक्सचेन्ज (एनएसई) को निफ्टी–५० पनि २०२५ मार्चयताकै न्यून विन्दुमा पुगेको छ। अक्टोबर १ मा निफ्टी २२ हजार ४२१ विन्दुमा बन्द भएको थियो। यसअघि २०२५ मार्चमा निफ्टी २२ हजार १२४ विन्दुसम्म झरेको थियो।
श्रीलंकादेखि बंगलादेशसम्म उस्तै दबाब
श्रीलंकाको सेयर बजार पनि वर्षको सुरुदेखि नै दबाबमा छ। कोलम्बो स्टक एक्सचेन्जको ‘अल सेयर प्राइस इन्डेक्स’ करिब २४ हजार विन्दुबाट घटेर २० हजार ८१३ विन्दुमा आएको छ। एसएन्डपी एसएल–२० सूचकांक पनि ५ हजार ८८० विन्दुमा झरेको छ।

बंगलादेशको ढाका स्टक एक्सचेन्जको डीएसईएक्स सूचकांकमा पनि स्थायी सुधार देखिएको छैन। सन् २०२१ सेप्टेम्बरदेखि २०२५ मेसम्म लगातार ओरालो लागेको बजारमा त्यसपछि केही सुधार देखिए पनि त्यो टिक्न सकेन। जुलाई २०२६ यता सूचकांक पुनः घट्दो क्रममा रहेको छ।
पाकिस्तानको सेयर बजारमा पनि स्पष्ट उकालो गति देखिएको छैन। पाकिस्तान स्टक एक्सचेन्जको केएसई–१०० सूचकांक २०२६ जनवरीमा १ लाख ८५ हजार विन्दुसम्म पुगेको थियो। त्यसपछि मार्चमा १ लाख ५१ हजार विन्दुसम्म झरेको बजार अहिले करिब १ लाख ६८ हजार विन्दुमा छ। विश्लेषकहरूले बजारलाई दिशाविहीन अर्थात् साइडवेज अवस्थामा रहेको बताएका छन्।
माल्दिभ्सको प्रमुख सेयर सूचकांक पनि घटेको छ। २०२६ मार्चमा ७१३ विन्दुमा रहेको सूचकांक अहिले करिब ४८९ विन्दुमा आएको छ।
भुटानको रोयल सेक्युरिटिज एक्सचेन्जको सूचकांकमा पनि निरन्तर कमजोरी देखिएको छ। सन् २०२४ जुनमा १ हजार ५७१ विन्दुमा रहेको सूचकांक अहिले १ हजार १७१ विन्दुमा झरेको छ।
नेपालमा पनि दुई वर्षदेखि उस्तै अवस्था
दक्षिण एसियाका अन्य बजारजस्तै नेपालको सेयर बजार पनि पछिल्ला दुई वर्षदेखि स्पष्ट दिशामा अघि बढ्न सकेको छैन।
२०२४ मा ३ हजार विन्दु पार गरेको नेप्से परिसूचक त्यसयता उतारचढावबीच साइडवेज अवस्थामा रहँदै आएको छ। बजारले पटक–पटक सुधारको प्रयास गरे पनि त्यसलाई निरन्तरता दिन सकेको छैन।
हाल नेप्से परिसूचक २ हजार ५८६ विन्दुमा बन्द भएको छ। बैंकिङ प्रणालीमा तरलता सहज हुनु र ब्याजदर घट्नुजस्ता सकारात्मक आधार हुँदाहुँदै पनि बजारले नयाँ उचाइ लिन सकेको छैन।
यसले नेपाली सेयर बजारमा पनि लगानीकर्ताको सतर्कता र कमजोर मनोबल कायमै रहेको संकेत गर्छ।











