काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा विस्थापित बीमितलाई राहत दिने उद्देश्यले ६ महिनासम्म ब्याज छुट दिन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले प्रभावित बीमितलाई नवीकरण बीमाशुल्क भुक्तानीका लागि ६ महिनाको थप मोहलत दिनसमेत निर्देशन दिएको हो।
बाढी तथा पहिरोका कारण बीमालेख साथमा नभएको र त्यसकै कारण बीमाशुल्क वा बीमालेख कर्जाको नियमित किस्ता तिर्न नसकेको अवस्थामा ६ महिनासम्म ब्याज नलाग्ने गरी भुक्तानीको म्याद थप गर्न प्राधिकरणले भनेको छ।
यो सुविधा लिन सम्बन्धित बीमित वा परिवारजनले स्थानीय तह, प्रहरी कार्यालय वा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिश पेश गर्नुपर्नेछ।
बीमालेख हराएको वा नष्ट भएको अवस्थामा बीमा कम्पनीले निःशुल्क प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ। कम्पनीमा रहेका बीमासम्बन्धी कागजातसमेत नष्ट भएको भए बीमित वा अभिभावकबाट आवश्यक विवरण लिएर अभिलेख अद्यावधिक गर्न प्राधिकरणले निर्देशन दिएको छ।
भोटेकोशी नदीमा आएको बाढी र त्यसपछि भएको क्षतिका कारण रसुवासहित आसपासका जिल्लाका नागरिक प्रभावित भएका छन्। यस अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले प्रभावित बीमितलाई बीमाशुल्क भुक्तानी, बीमालेख कर्जा र कागजात व्यवस्थापनमा सहजीकरण गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको हो।
प्राधिकरणको निर्णयले बाढी प्रभावित बीमितलाई तत्काल बीमाशुल्क तथा कर्जा किस्ता भुक्तानीको दबाब कम हुने अपेक्षा गरिएको छ।












