२०८३ आश्विन २० मंगलवार
२०८३ आश्विन २० मंगलवार

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा हुने प्रतियोगिता नसर्ने मन्त्रीको दाबी

काठमाडौं । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। प्रतियोगिताका अधिकांश खेल सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिनेछ।

कर्णालीमा प्रतियोगिता आयोजना गर्ने सरकारको निर्णयलाई राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिले स्वागत गर्दै सरकारलाई धन्यवाद दिएको छ।

स्थानीय तहदेखि खेल प्रतिभाको खोजी, पहिचान र उत्पादन गर्दै नेपाली खेलकुदको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रत्येक दुई वर्षमा चक्रीय प्रणालीअनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने व्यवस्था छ। सोहीअनुसार यसपटक कर्णाली प्रदेशलाई प्रतियोगिता आयोजनाको जिम्मेवारी दिइएको हो।

प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै मूल आयोजक समितिले पूर्वतयारी, व्यवस्थापन तथा सञ्चालनका लागि कार्यसम्पादन समितिलाई आवश्यक निर्देशनसमेत दिएको छ।

निर्णयअनुसार दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्। प्रतियोगितामा ३२ खेल विधा समावेश गरिनेछ।

त्यस्तै, सरकारले स्वीकृत गरेको बजेट तथा खर्चसम्बन्धी नर्म्सको सीमाभित्र रहेर प्रतियोगिताको खर्च व्यवस्थापन गरिने भएको छ। पहिलोपटक आयोजना हुन लागेको प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक तयारीसमेत अघि बढाइने भएको छ।

‘दसौँ राष्ट्रिय खेलकुद हुन्छ, दुविधा नमान्नुहोस्’

बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने भन्दै प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गरे।

उनले प्रतियोगिताको तयारीलाई समेत ‘दसौँ राष्ट्रिय खेलकुदको उत्सव’का रूपमा लिन आग्रह गरे।

‘दसौँ राष्ट्रिय खेलकुद हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला। दसौँ राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो।’

मन्त्री पोखरेलले विगतका राष्ट्रिय खेलकुद प्रतियोगिताभन्दा प्रभावकारी रूपमा यसपटकको प्रतियोगिता सञ्चालन गर्ने दाबी गरे। प्रतियोगिता सफल बनाउन तीनै तहका सरकार तथा सम्पूर्ण सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले मूल आयोजक समितिको बैठकले दसौँ राष्ट्रिय खेलकुद आयोजना हुने विषयमा थप सुनिश्चितता प्रदान गरेको बताए। प्रतियोगिताको आयोजनापछि कर्णाली प्रदेश ठूलो राष्ट्रिय स्तरको खेलकुद कार्यक्रम सञ्चालन गर्न सक्षम छ भन्ने सन्देश जाने उनको भनाइ छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले निर्धारित समयमै प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको जानकारी दिए।

निजी क्षेत्रलाई पनि सहभागी गराइने

प्रतियोगितालाई प्रभावकारी र व्यवस्थित बनाउन निजी क्षेत्र, संघसंस्था तथा अन्य सरोकारवाला निकायको सहभागिता बढाइने भएको छ।

त्यसका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा अपनाउँदै सम्भावित प्रायोजकसँग समझदारीपत्र गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

प्रतियोगिता सञ्चालनका लागि ‘राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३’ बमोजिम विभिन्न विषयगत उपसमिति गठन गरिनेछ। दसौँ राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक काम अघि बढाउन कार्यसम्पादन समितिलाई अधिकारसमेत प्रत्यायोजन गरिएको छ।

कर्णालीमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदलाई नयाँ खेल प्रतिभा पहिचान र उत्पादनसँगै नेपाली खेलकुदको समग्र विकासका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।