महिला तथा बालबालिकाको अधिकार संरक्षण, मानव अधिकार प्रवर्द्धन तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील संस्था महिला आत्मनिर्भरता केन्द्रको ३४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सञ्चमाया तामाङको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशा तथा कार्यक्रमका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको सुरुवातमा संस्थाका आजीवन तथा साधारण सदस्यहरूका लागि लैङ्गिक हिंसासम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको थियो । समावेशी तथा स्वास्थ्य प्रबन्धक उषा थापाले सहजीकरण गर्नुभएको अभिमुखीकरणमा लैङ्गिक हिंसाका स्वरूप, कारण तथा प्रभाव, हिंसा न्यूनीकरणका उपाय, महिला तथा बालबालिकाका अधिकार र हिंसामा परेका व्यक्तिले प्राप्त गर्न सक्ने सहयोगका विषयमा जानकारी गराउनु
भयो ।
साधारण सभामा मेलम्ची नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, संस्थाका पूर्व अध्यक्षहरू इन्द्रमाया गुरुङ, डोल्मा तामाङ, भगवती नेपाल र देवी गुरुङ, इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख, राधाकृष्ण श्रेष्ठ तथा इन्द्रेश्वरी विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठ,संस्थाका कार्यक्रम संयाेजक कृष्ण गुरूङ, इन्द्रावती महिला विकास तथा ऋण सहकारि संस्थाका अध्यक्ष कल्पना चालिसे लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष शोभा आचार्यले स्वागत मन्तव्य राख्दै संस्थाले महिला तथा बालबालिकाको अधिकार, सामाजिक न्याय र सशक्तीकरणका क्षेत्रमा गर्दै आएको कार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
साधारण सभामा संस्थाको वार्षिक गतिविधि तथा प्रगति प्रतिवेदन सहसचिव सुनिता परियारले र लेखा प्रतिवेदन कोषाध्यक्ष सरिता दुलालले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमाथि संस्थाका पूर्व अध्यक्ष भगवती नेपाल तथा साधारण सदस्य अम्बिका डोटेलले धारणा राख्नुभएको थियो । उहाँहरूले संस्थाका विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चन्द्रबहादुर तामाङले महिला तथा बालबालिकाको अधिकार संरक्षण, सशक्तीकरण र आत्मनिर्भरताका लागि संस्थाले सञ्चालन गर्ने कार्यक्रमहरूमा स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय गर्न आफूहरू सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समुदायको आवश्यकता र स्थानीय तहको प्राथमिकतासँग जोडेर संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आफूहरू सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी, इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठले आफू यस संस्थाको सल्लाहकारको भूमिकामा रहन पाउँदा खुसी लागेको बताउनुभयो । महिला तथा बालबालिकाको अधिकार, शिक्षा, सामाजिक जागरण र सशक्तीकरणका क्षेत्रमा संस्थाले पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा संस्थालाई आवश्यक सुझाव तथा सहकार्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साधारण सभामा आगामी दिनमा महिला तथा बालबालिकाको अधिकार संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण, मानव अधिकार प्रवर्द्धन, महिला नेतृत्व विकास तथा आर्थिक सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल गरिएको थियो । साथै महिलालाई सीप, रोजगारी, उद्यमशीलता र आर्थिक अवसरसँग जोड्दै ‘महिला आत्मनिर्भरता केन्द्रलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको छ ।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव कालिमाया वाइबाले गर्नुभएको थियो ।उहाँले कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै साधारण सभाका विभिन्न कार्यसूची प्रस्तुत गर्नुभएको थियो ।
सभाको समापन गर्दै संस्थाका अध्यक्ष सञ्चमाया तामाङले महिला तथा बालबालिकाको अधिकार र सम्मानलाई केन्द्रमा राखेर संस्थालाई अझ व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले “अधिकारदेखि आत्मनिर्भरतासम्म”भन्ने उद्देश्यका साथ संस्थाको आगामी यात्रा समुदायसँगको सहकार्यमा अघि बढ्ने बताउनुभयो ।
महिला तथा बालबालिकाको अधिकारलाई आवाजमा मात्र सीमित नराखी अवसर, आत्मविश्वास र आत्मनिर्भरतासँग जोड्ने संस्थाको आगामी लक्ष्यले साधारण सभालाई थप अर्थपूर्ण बनाएको छ ।












