२०८३ आश्विन २० मंगलवार
२०८३ आश्विन २० मंगलवार

झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइयो, तस्करी नियन्त्रणमा सुरक्षा समिति सक्रिय

झापा । सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र राजस्व चुहावट रोक्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा स्थलगत अनुगमन गर्दै सुरक्षा अवस्थाबारे जानकारी लिइएको हो । मेचीनगर, बुद्धशान्ति र अर्जुनधारालगायतका पालिकासँग जोडिएका सीमावर्ती क्षेत्र तथा आवतजावतका मार्गको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सदरमुकामबाट टाढा रहेका र सहज पहुँच नभएका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउने उद्देश्यले अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । उनका अनुसार मुख्य नाकाबाहेकका वैकल्पिक सडक तथा ग्रामीण मार्गबाट हुनसक्ने अवैध ओसारपसार र तस्करी नियन्त्रण गर्न विशेष सतर्कता अपनाइएको छ ।

इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लाबाट झापाको बाटो हुँदै भारततर्फ हुनसक्ने अवैध निकासीलाई मध्यनजर गर्दै संवेदनशील क्षेत्रमा सुरक्षा गस्तीसमेत बढाइएको छ । यसबाट राजस्व चुहावट नियन्त्रणका साथै सीमा अपराध र अवैध वस्तुको ओसारपसार रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

“मुख्य नाकासँगै वैकल्पिक बाटो र ग्रामीण क्षेत्रबाट अवाञ्छित गतिविधि हुनसक्ने भएकाले ती क्षेत्रको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको हो”, पोखरेलले भने ।

सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध गतिविधिबारे सूचना तत्काल आदानप्रदान गरी आवश्यक कारबाहीका लागि सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपालका सम्बन्धित युनिटलाई आ–आफ्नो कार्यक्षेत्रमा नियमित गस्ती तथा पेट्रोलिङ प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटले सुरक्षा उपस्थिति, गस्ती तथा अवैध गतिविधि नियन्त्रणका लागि गरिएका कारबाहीको विवरण प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्राप्त विवरणका आधारमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्थाको मूल्याङ्कन गरी थप रणनीति तय गरिने पोखरेलले जानकारी दिए ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा निकायका अधिकारी सहभागी थिए ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै सीमावर्ती क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्रीको ओसारपसार हुनसक्ने जोखिमलाई समेत ध्यानमा राखेर थप सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।