काठमाडौँ। नेपाल वित्तीय प्रतिवेदन मानक (NFRS-17) को हतारमा गरिएको कार्यान्वयनले नेपाली बीमा क्षेत्रमा गम्भीर अन्योल र वित्तीय भार सिर्जना गरेको छ। विश्वका ठूला अर्थतन्त्रहरूले समेत पूर्ण रूपमा लागू नगरेको यो प्रणाली नेपालमा जबर्जस्ती लादिएको भन्दै बीमा कम्पनीहरूले तीव्र असन्तुष्टि जनाएका छन्।

नेपाल बीमा प्राधिकरणले एनएफआरएस-१७ अनुसार लेखापरीक्षण गराएपछि जीवन बीमा कम्पनीहरूले अनिवार्य रूपमा एक्चुरी भ्याल्युएटरबाट प्रमाणीकरण गराउनुपर्ने व्यवस्था गरेको छ। यसले कम्पनीहरूलाई दोहोरो आर्थिक मारमा पारेको छ। लेखापरीक्षक सरह नै एक्चुरीहरूले पनि विशेष सफ्टवेयर र प्राविधिक जनशक्तिको बहानामा भारी शुल्क माग गर्न थालेका छन्।
भारतमा लागू नभएको नियम नेपालमा दबाब
नेपालका धेरैजसो बीमा कम्पनीहरू भारतीय एक्चुरीमा निर्भर छन्। तर, भारतमै हालसम्म IFRS-17 कार्यान्वयनमा आएको छैन। भारतीय एक्चुरीहरू स्वयं यस प्रणालीमा अनभिज्ञ रहँदा नेपाली कम्पनीहरू उनीहरूबाटै सिक्नुपर्ने परिबन्दमा परेका छन्।
बीमा कम्पनीका पदाधिकारीहरूका अनुसार विश्व बैंकको दबाबमा नेपाललाई नयाँ वित्तीय प्रणालीको परीक्षण गर्ने ‘प्रयोगशाला’ बनाइएको छ। ठूला अर्थतन्त्रमा लागू गर्न कठिन हुने भन्दै साना देशहरूमा परीक्षण गर्न खोजिएको आशय विश्व बैंकका प्रतिनिधिहरूले व्यक्त गरेपछि व्यवसायीहरू थप निराश बनेका छन्।
लाभांश क्षमता घट्ने, साधारण सभा घकेलिने जोखिम
कम्पनीहरूको प्रशासनिक खर्च उच्च दरमा बढ्दा नाफा खुम्चिने र लगानीकर्ताले पाउने लाभांश क्षमतामा सिधै असर पर्ने देखिएको छ। यसका साथै, पुस मसान्तभित्र सम्पन्न गर्नुपर्ने वार्षिक साधारण सभा (AGM) समेत लेखापरीक्षण र एक्चुरी प्रमाणीकरणको गोलचक्करका कारण समयमै नहुने निश्चितप्रायः बनेको छ।
के हो NFRS र प्रमुख मापदण्डहरू?

नेपाल लेखामान बोर्डले तयार पारेको यो ढाँचा अन्तर्राष्ट्रिय ‘IFRS’ को नेपाली रूप हो। यसले जोखिम र तात्कालिक बजार स्थिति अनुसार सम्पत्ति र दायित्वको मूल्यांकन गर्छ।
NFRS 9: बैंक, वित्तीय संस्था तथा लगानी कारोबारका लागि
NFRS 15: उत्पादन, प्रविधि, दूरसञ्चार र खुद्रा व्यापारका लागि
NFRS 16: एयरलाइन्स, घरजग्गा तथा भाडा/लिज (Leases) सम्झौताका लागि
NFRS 17: जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरूको वित्तीय विवरणका लागि
नेपालका अधिकांश चार्टर्ड एकाउन्टेन्ट र नियामक स्वयं यसमा पूर्ण अभ्यस्त भइनसकेकाले नयाँ प्रणाली बीमा कम्पनीहरूका लागि ‘फलामको च्युरा’ सरह बनेको छ।










