पोखरा।
पोखरा मा गुडिरहेको बसमा आगलागी भएको छ। पोखरा–२२ पुम्दीभुम्दीस्थित ठूलाडिही भन्ने स्थानमा बसमा एक्कासी आगो लागेको हो।
प्रहरीका अनुसार ग १ ख ९५६२ नम्बरको बसमा तार सर्ट भएर आगलागी भएको हो। कास्की जिल्ला प्रहरी कार्यालय का प्रवक्ता डीएसपी हरीबहादुर बस्नेत का अनुसार बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको छ।
बाग्लुङबाट वालिङ जाँदै गरेको बस पोखरा आइपुगेपछि आगो लागेको जनाइएको छ। आगलागी भएको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बैदाम बाट डीएसपी नमराज भट्टराई को कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
बसमा करिब ४० जना यात्रु सवार रहेको बताइएको छ। अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने बस भने जलेर ठूलो क्षति भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।