काठमाडौं, १ वैशाख।
जिल्ला प्रहरी परिसर काठमाडौं ले दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक तथा अप्रमाणित सूचना सिर्जना गरी प्रसारण वा प्रकाशन नगर्न आग्रह गरेको छ।

परिसरका प्रवक्ता पवनकुमार भट्टराई का अनुसार ज्यानसम्बन्धी कसूरको आरोपमा अनुसन्धान भइरहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई सर्वोच्च अदालत को परमादेश तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं को निर्देशनअनुसार जमानीमा राखेर अनुसन्धान भइरहेको छ।

भट्टराईले आज जारी विज्ञप्तिमा एक युट्युब च्यानलमा प्रकाशित श्रव्यदृश्य सामग्रीमा व्यक्त धारणा र सूचनाप्रति प्रहरीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालय, काठमाडौंको कानुनी राय–परामर्शमा अनुसन्धान भइरहेकामा जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत जानकारी प्रवाह भएको देखिएको छ। त्यसैले भ्रामक तथा अप्रमाणित सूचना सिर्जना एवं प्रसारण/प्रकाशन नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ।”