सिन्धुपाल्चाेक । पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस सिन्धुपाल्चाेकमा पनि मनाइएकाे छ । जिल्लाकाे पाँचपोखरी थाङ्पाल गाउँपालिकाले एक कार्यक्रमकाे आयोजना गरि दिवस मनाएकाे हाे ।
गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । नागरिकमा ध्यान, योग र आत्मचेतनाको विकास गर्न सहयाेग पुर्याउने उद्देश्यले आरोग्य दिवस मनाइएकाे पालिकाले जनाएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष अधिकारीले यस्ता कार्यक्रमहरूलाई स्थानीय तहबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै आरोग्यको यात्रालाई सामूहिक अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत कुइँकेलले योग, ध्यान र आरोग्यसम्बन्धी कक्षाहरूलाई विद्यालय तहदेखि नै लागू गर्ने सरकारको नीतिको महत्व उल्लेख गर्दै यस ज्ञानलाई व्यवहारमा उतार्न सके मात्र वास्तविक आरोग्यता हासिल हुने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरू, सेवाग्राहीहरू तथा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेकाे थियाे । उपस्थितहरुले आफूभित्रको शान्ति, सन्तुलन र उज्यालोलाई ध्यानले स्पर्श गरेको अनुभव व्यक्त गरेका थिए ।
त्यसैगरी, सहकार्य, सम्बन्ध र सद्भावमा आधारित सामाजिक आरोग्य, प्रकृतिसँग सुमधुर सम्बन्ध कायम गर्ने पर्यावरणीय आरोग्य र आत्मचिन्तन, ध्यान तथा अन्तर्मुखी यात्राबाट प्राप्त हुने आध्यात्मिक आरोग्य लगायतको समन्वयले मात्र जीवन पूर्णता पाउने सहभागीहरुले बताए ।

