काठमाडौँ– नेपाली कांग्रेसले संगठन सुदृढीकरण, प्रशिक्षण व्यवस्था र आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न विषयगत संरचना गठन गरेको छ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारी तथा संगठनात्मक समन्वयलाई व्यवस्थित गर्न अलग–अलग संयन्त्र स्थापना गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार पार्टीका उपसभापति विश्वप्रकाश शर्मा को नेतृत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान गठन गरिएको छ। उक्त संरचनाले पार्टी कार्यकर्ताको क्षमता अभिवृद्धि तथा नेतृत्व विकाससम्बन्धी तालिम र कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाएको छ।
त्यसैगरी, निर्वाचन व्यवस्थापनलाई दीर्घकालीन र प्रभावकारी बनाउन उपसभापति पुष्पा भुसाल को संयोजकत्वमा निर्वाचन ब्युरो गठन गरिएको छ।
संगठनात्मक समन्वयलाई प्रभावकारी बनाउन केन्द्रीय तहमा छुट्टै संयन्त्र पनि गठन गरिएको छ। यस संयन्त्रको नेतृत्व महामन्त्री गुरुराज घिमिरे ले गर्नेछन् भने सहमहामन्त्री बहादुर सिंह लामा र मुकुन्द यादव सदस्य रहने व्यवस्था गरिएको छ।
यसैबीच, पार्टीको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन अर्को समिति गठन गरिएको छ। सो समितिको संयोजक जिम्मेवारी महामन्त्री प्रदीप पौडेल लाई दिइएको छ भने सहमहामन्त्री योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्यका रूपमा रहनेछन्।
यो समितिले १५औँ महाधिवेशनका लागि सदस्यता व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य सञ्चालन गर्नेछ।
