सिन्धुपाल्चोक, मेलम्ची । ज्योति भञ्ज्याङ् आधारभूत विद्यालय, मेलम्ची–७ को ४२औँ वार्षिकोत्सव तथा २२औँ अभिभावक दिवस मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले शिक्षा सबैका लागि अनिवार्य तथा आधारभूत अधिकार भएको उल्लेख गर्नुभयो । शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले लगानीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सामुदायिक विद्यालयहरूको सुदृढीकरण नै समग्र समाज विकासको आधार भएको धारणा राख्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष पासाङ तामाङ, निवर्तमान वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ लगायत विभिन्न जनप्रतिनिधि, शिक्षक, अभिभावक, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति तथा विविध रचनात्मक कार्यक्रम प्रस्तुत गरी उत्सवलाई उल्लासमय बनाएका थिए । वार्षिकोत्सव तथा अभिभावक दिवसले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।