मेलम्ची, सिन्धुपाल्चोक :
मेलम्ची नगरपालिका वडा नम्बर ५ मा अकबरे खुर्सानी खेतीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले प्लास्टिक मल्चिङ प्रविधिको प्रयोग सुरु गरिएको छ। उक्त कार्यक्रम मेलम्ची नगरपालिका कृषि विकास शाखा को सहयोगमा सञ्चालन गरिएको हो।
कृषि उत्पादन बढाउने, झारपात नियन्त्रण गर्ने तथा माटोको चिस्यान जोगाउने लक्ष्यका साथ किसानहरूलाई प्लास्टिक मल्चिङ प्रविधि प्रयोगमा ल्याइएको हो। यस प्रविधि प्रयोग गर्दा उत्पादन वृद्धि हुनुका साथै पानीको उपयोग पनि कम हुने अपेक्षा गरिएको छ।
कृषि विकास शाखाका प्राविधिक अमर नाथ आचार्य का अनुसार प्लास्टिक मल्चिङ प्रविधिले अकबरे खुर्सानी खेतीलाई थप प्रभावकारी बनाउनेछ। उनले यो प्रविधि प्रयोग गर्दा झारपात कम हुने, माटोको चिस्यान कायम रहने र उत्पादनमा वृद्धि हुने बताए।
स्थानीय किसानहरूका अनुसार पनि यो प्रविधि प्रयोगपछि बिरुवा राम्रोसँग बढ्ने र उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ। कृषि विकास शाखाले आगामी दिनमा मेलम्ची नगरपालिकाका अन्य वडामा पनि आधुनिक कृषि प्रविधि विस्तार गर्ने योजना बनाएको जनाएको छ।