सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र तेह्रथुम जिल्लाको म्याङ्लुङ नगरपालिकाबीच न्यायिक समितिहरूको अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
म्याङ्लुङ नगरपालिकाकी उप–प्रमुख जमुनादेवी कार्कीको नेतृत्वमा आएको न्यायिक समितिको टोलीलाई मेलम्ची नगरपालिकाले भव्य स्वागत गरेको थियो। स्थानीय तहमा न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी, पारदर्शी तथा नागरिकमैत्री बनाउने सम्बन्धमा अनुभव साटासाट कार्यक्रम रहेको थियो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाकी उप–प्रमुख उमा प्रधानले स्थानीय न्यायिक समितिको भूमिकाबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले आपसी सहकार्य र सिकाइलाई थप मजबुत बनाउने बताउनुभयो ।
त्यसै मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले न्याय सम्पादनमा प्रशासनिक सहजीकरण र कानुनी प्रक्रियाको महत्वबारे धारणा राख्नुभएको थियो भने नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्र राज खरेलले दुवै नगरपालिकाबीच भएका अभ्यासहरूबाट सिकेर आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूबीच छलफल, अन्तरक्रिया तथा अनुभव आदान–प्रदान गरिएको थियो। सहभागीहरूले स्थानीय तहको न्यायिक प्रणालीलाई अझ सुदृढ बनाउने दिशामा यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको बताएका छन्।




