काठमाडौं । बागमती प्रदेश अन्तर्गत निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्रीले आज छलफल गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयमा आयोजित उक्त छलफलमा प्रदेशका विभिन्न क्षेत्रका समस्या, विकासका सम्भावना तथा आवश्यक योजनाबारे सांसदहरूले आफ्नो धारणा राखेका थिए।
छलफलका क्रममा भरत प्रसाद पराजुली (सिन्धुपाल्चोक क्षेत्र नम्बर–१) ले आफ्नो निर्वाचन क्षेत्रका प्रमुख समस्या प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्नुभएको थियो। उहाँले अरनिको राजमार्ग को स्तरोन्नति र दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद पराजुलीले उक्त राजमार्ग नेपाल–चीन व्यापार तथा आवागमनका लागि महत्वपूर्ण मार्ग भएकाले यसको मर्मत, विस्तार र व्यवस्थापनमा सरकारको विशेष ध्यान आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी उहाँले सिन्धुपाल्चोक जिल्लामा रहेको नेपाल ओरियन्टेड म्याग्नेसाइट उद्योग पुनः सञ्चालनमा ल्याउन पनि माग गर्नुभएको छ। उद्योग पुनः सञ्चालनमा आए स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै जिल्लाको आर्थिक गतिविधि समेत बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
प्रधानमन्त्रीले सांसदहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक पहल गर्ने विश्वास दिलाउनुभएको जनाइएको छ।
