
२४ चैत्र २०८१, सोमबार १४:३३
काठमाडौं २५ चैत । नेकपा माओवादी केन्द्रले प्रतिगमनको भण्डाफोर र सरकारका बेथितिविरुद्ध खबरदारीका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ।
पछिल्लो पदाधिकारी बैठकका निर्णयसँगै तल्ला समितिहरूमा बृहत जनपरिचालनका लागि स्वयंसेवक खटाउने निर्णय गरेको हो।
राजावादीहरूको प्रदर्शन भइरहेकाले संभावित सुरक्षाका लागि उसले स्वयंसेवक निर्माण गरी परिचालन गर्ने निर्णय गरेको हो । ‘यस स्थितिमा हामीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नु पर्ने छ । सरकारको नालायकी र वेथितिको विरुद्व खवरदारीका साथै प्रतिगमनकारी षडयन्त्रका विरुद्व भण्डाफोरलाई तिब्रता दिनुपर्ने छ’ अध्यक्ष पुष्पकमल दाहाल र महासचिब देव गुरुङले जारी गरेको परिपत्रमा भनिएको छ, ‘शान्तिपूर्ण रुपमा युवा स्वयमसेवकहरूको परिचालन र बृहत जनपरिचालनमा जोड दिनु पर्छ । गणतन्त्र पक्षधरहरू वीच सम्वाद, सहकार्य बढाउने र यस अभियानमा समाजवादी मोर्चालाई क्रियाशिल गराइनु पर्दछ ।’
माओवादीले सरकारका कारण राष्ट्रिय स्वाधीनताको रक्षामा सरकार चुक्दै गएको जनाएको छ । ‘सरकारका काम कार्यबाहीहरूमा बेथिति रहेको, भ्रष्टहरूको रक्षा गरिरहेको, गणतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षामा गम्भीरता नदेखिएको, प्रतिगामी षडयन्त्रहरू बढ्दै गइरहेको, यसमा सरकार गैर जिम्मेवार बनेको देखिन्छ’ माओवादीले तल्ला समितिमा पठाएको परिपत्रमा भनिएको छ, ‘चैत्र १५ गते कै दिन तिनकुनेमा पूर्व राजावादीहरूको कार्यक्रममा देखिएको उदण्डता, तोडफोड, आगजनी, आततायी र अपराधिक घटनाको रुपमा समेत देखिएको छ ।’
चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको घटनमा सरकारको नालायकी देखिएको आरोप उसले लगाएको छ । ‘तीनकुनेको घटना श्रृफ्ला र शान्ति सुरक्षाको जिम्मेवारी रहेको सरकारको नालायकी पनले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र र मुलुकको स्वाधिनताको रक्षाको निम्ति गम्भीर चुनौती देखिएको छ’ माओवादीले भनेको छ ।
