प्रचण्डको गम्भीर आरोप : ओली नेतृत्वको सरकार माफियाहरुको सेवामा अग्रसर छ

११ भाद्र २०८१, मंगलवार ०८:३०

काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले वर्तमान सरकारको बारेमा हनिमुन पिरियडसम्म टिप्पणी गर्न नचाहेको खुलाएका छन् । उनले आफूले सरकारको बारेमा पहिलो बहस जनताको अदालतमा होस भन्ने आफ्नो चाहना रहेको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलको नेताको रुपमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘सरकारमाथि जनताको अदालतमा हुने बहस नै अर्थपूर्ण र महत्वपूर्ण हुन्छ भन्ने मेरो विश्वास थियो । यो झण्डै दुई महिनाको यो अवधिलाई हेर्दा सरकारको नियत र गन्तव्यको अवलोकनपछि म यो निश्कर्षमा पुगेको छु यो सरकार अहंकारपूर्ण र गलत बाटोतर्फ अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतर्फ अग्रसर छ ।’

उनले वर्तमान सरकार जनताभन्दापनि स्वार्थ समूह र माफियाहरुको सेवामा अग्रसर रहेको गम्भीर आरोप लगाएका छन् । उनले अबपनि रचनात्मक खबरदारी नगरे धेरै ढिला हुने ठानेर आफूले आज सदनमा बोल्नुपरेको स्पष्टीकरण दिए ।

उनले अहिले कांग्रेस र एमालेमात्रै नमिलेको जिकिर गरे । उनले भने,‘कांग्रेस र एमाले आफूमात्र मिल्नुभएको छैन् । आँफैंलाई सिध्याउने भनिएका जातिय, क्षेत्रिय प्रकृतिका साना दलहरुलाई पनि कतै फकाएर कतै तर्साएर प्रतिपक्ष कमजोर होला कि भन्ने चिन्ता वा कमजोर हुनेछ भन्ने खुशी कसैलाई छ भने म दुवैलाई आश्वस्त पार्न चाहन्छु कि त्यस्तो हुनेछैन् । बरु आवश्यक परे जनतालाई साथमा लिएर संसद्देखि सडकसम्म सत्तालाई खबरदारी र नियन्त्रण गरिनेछ ।’ पछिल्लो ४० दिनमा जनताले प्रतिपक्षीको नैतिक शक्ति देखिसकेको पनि उनले गर्वकासाथ सुनाए ।