पाँचपोखरी थाङपालमा विद्युत् सेवा सुधारको माग गर्दै नेकपा (माओवादी केन्द्र) को ज्ञापनपत्र

८ श्रावण २०८२, बुधबार ०८:५९

सिन्धुपाल्चोक, साउन ७ – पाँचपोखरी थाङपाल गाउँपालिका अन्तर्गतको विद्युत् सेवा अत्यन्तै कमजोर र अव्यवस्थित भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेपाल विद्युत् प्राधिकरण हेलम्बु वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ।

आज वितरण केन्द्र प्रमुखलाई बुझाइएको ज्ञापनपत्रमा माओवादी केन्द्रले लामो समयदेखि बत्ती गइरहने, ट्रान्सफर्मर बिग्रेर लामो समयसम्म मर्मत नहुनु, नयाँ लाइन विस्तारमा ढिलासुस्ती, जनतालाई जानकारी नदिई विद्युत् अवरुद्ध गरिनु लगायतका समस्या उल्लेख गर्दै तत्काल समाधानको माग गरेका छन्।

ज्ञापनपत्रमा उल्लेखित प्रमुख मागहरू निम्न छन्:

पाँचपोखरी थाङपाल गाउँपालिका लगायत आसपासका क्षेत्रमा बारम्बार हुने विद्युत् अवरुद्धको कारण सार्वजनिक गरिनु।

लामो समयदेखि अवरुद्ध लाइनहरू तत्काल मर्मत तथा सञ्चालनमा ल्याइनु।

ट्रान्सफर्मर मर्मत, लाइन विस्तार लगायतका कार्य तत्काल अघि बढाइनु।

विद्युत् सेवा सम्बन्धी जानकारी नियमित रूपमा जनतालाई दिइनु।

दीर्घकालीन समाधानका लागि आवश्यक योजना तत्काल तयार गरिनु।

बत्ती नहुँदा पारेको असरको मूल्याङ्कन गरी क्षतिपूर्ति दिने व्यवस्था गरिनु।

पार्टीका अध्यक्ष दिल बहादुर बम्जन र सचिव रमेश श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा समयमै समस्या समाधान नभए जनस्तरबाट आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ।