
२६ फाल्गुन २०८१, सोमबार १६:०२
मेलम्ची नगरपालिकाको आयोजना तथा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा सोमबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ६५० भन्दा बढी स्थानीयले सेवा लिएका छन्।
मेलम्ची नगर अस्पतालमा आयोजित शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि तथा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन पाउनु खुशीको विषय भएको बताइन्। उनले रोगलाई वेवास्ता नगरी समयमै जाँच गराउन सबैलाई आग्रह गरिन्।
शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग, आँखा, मुटु, बालरोग, मानसिक स्वास्थ्य, शल्यक्रिया, छाला तथा यौनरोग, दन्त परीक्षण लगायतका सेवा प्रदान गरिएको थियो। भिडियो एक्सरे, ई.सि.जि., ईको, रगत तथा पिसाब परीक्षणको समेत सुविधा उपलब्ध गराइएको थियो।
काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडका प्रतिनिधि प्रेम सुवालले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँगाउँमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको जानकारी दिए। गम्भीर बिरामीहरूलाई अस्पतालमा औषधि बाहेक खानबस्नको व्यवस्था नि:शुल्क गरिने समेत उनले बताए।
यसअघि आइतबार इन्द्रावती गाउँपालिकामा सम्पन्न शिविरमा ५९८ जनाले विभिन्न स्वास्थ्य सेवाहरू लिएका थिए। मेलम्ची नगरपालिकाले आगामी दिनमा पनि यस्ता शिविरहरू संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

