अदालतको आदेशको सम्मान गर्छु, कानुनी अधिकार प्रयोग गर्छु : रवि लामिछाने

२४ चैत्र २०८१, सोमबार १४:२९

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतको आदेशको सम्मान गर्ने बताउँदै कानूनले दिएको अधिकार प्रयोग गर्ने स्पष्ट संकेत दिएका छन्।

सोमबार भैरहवा कारागार चलान हुनुअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले तल्लो अदालतको आदेशविरुद्ध उच्च अदालत जाने तयारीमा रहेको बताए।

“अदालतको आदेशको सम्मान गर्छु। कानुनले दिएको अधिकार प्रयोग गर्छु। तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने प्रक्रिया अवलम्बन गर्छु,” लामिछानेले भने, “न्यायको मन्दिरबाट अन्याय हुने छैन भन्नेमा म पूर्ण विश्वस्त छु। उठाइएका आशंका गलत सावित हुनेछन्।”

लामिछानेले पार्टी कार्यकर्तालाई एक ढिक्का भएर अभियानलाई जनताको माझ लैजान पनि आग्रह गरेका छन्।

“सक्नु हुन्छ भने अभियान बढाउनुस्, नसके पनि नघटाउनुस्,” उनले भने, “पालो सबैको आउँछ, यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्नेछ।”

उनको यस्तो अभिव्यक्ति पार्टीभित्रको एकतालाई कायम राख्न र कानुनी लडाइँलाई अघि बढाउने संकेतको रूपमा हेरिएको छ।