गाजापट्टी । इजरायली युद्धका कारण गाजामा हजारौँ शव अस्थायी स्थानमा गाडिएका छन् । अहिले नियमित चिहान स्थलमा समेत शव गाड्ने ठाउँको अभाव हुन थालेको छ । गाजाको ‘येलो लाइन’ नजिक गोली लागेर मारिएका आफ्ना बुबा मोहम्मदका लागि २० वर्षीय ओमर अल–सवहीलाई चिहान खोज्नुपर्यो ।

गाजा सिटीको जैतुन क्षेत्रमा बस्ने ४० वर्षीय मोहम्मद जुन १० मा सडकछेउको एउटा सानो चिया–कफी पसलमा काम गरिरहेका बेला घाँटीमा गोली लागेको थियो । गोली लागे लगत्तै उनको मृत्यु भएको थियो । बुबालाई गाड्न ओमर जैतुन चिहान स्थल पुगे । त्यहाँ चिहानहरू एक अर्काका निकै नजिक थिए । तीमध्ये धेरैजसो गाजामा जारी इजरायली युद्धमा मारिएका मानिसका थिए ।
ठाउँको अभाव र युद्धका कारण उत्पन्न कठिन परिस्थितिले गर्दा धेरै चिहानमा मृतकको नाम लेखिएको कागज ढुङ्गाले मात्रै थिचेर राखिएको छ । कतिपयको व्यवस्थित रूपमा चिहानसमेत बनाउन सकिएको छैन । ‘म चिहानस्थलको बिचमा उभिएँ र चारैतिर मैले धेरै चिहान देखेँ । त्यहाँ बालुवाका थुप्रा थिए र ती मुनि मानिसहरू गाडिएका थिए,’ ओमरले अल जजिरालाई बताए ।
‘एउटा चिहानमा सहिदको नाम लेखिएको कागजसहित एउटा ढुङ्गा मात्र थियो । युद्धअघि जस्तो चिहान बनाउने वा व्यवस्थित रूपमा तयार गर्ने अवस्था थिएन,’ उनले भने । गाजामा अहिले एउटा चिहान बनाउन करिब ५०० शेकेल अर्थात् १६७ डलर खर्च हुन्छ । उक्त रकम जुटाउन नसकेपछि ओमरको परिवारले अर्को विकल्प खोज्नुपर्यो । नयाँ चिहान बनाउन ठाउँ पनि थिएन । त्यसैले आमेरले पिताको शवलाई हजुर बुबाको चिहानमै गाडे ।
युद्धका बिच गाजामा स्वास्थ्य, स्थानीय प्रशासन लगायत सेवा प्रणाली लगभग ध्वस्त भइसकेका छन् । इजरायली आक्रमणको जोखिमका कारण युद्धका क्रममा हजारौँ मृत प्यालेस्टिनीलाई ‘बेपत्ता’ को सूचीमा राखिएको छ । तीमध्ये धेरैलाई घरका बगैँचा, पाल, विस्थापितहरूका शिविर, विद्यालय वा अस्पताल परिसरमै गाडिएको थियो । सन् २०२५ को अक्टोबरमा अमेरिकाको मध्यस्थतामा युद्धविराम भएपछि गाजामा इजरायली आक्रमण केही कम भएको छोटो अवधिमा परिवारहरूले भग्नावशेष वा अस्थायी चिहानबाट आफन्तका शव निकालेर अन्यत्र सार्न थाले ।
युद्धविराम घोषणा भएयता मात्रै कम्तीमा १ हजार २०० प्यालेस्टिनी मारिएका छन् र उनीहरू सबैका लागि चिहान चाहिएको छ । गाजाका अधिकारीहरूका अनुसार अस्पताल परिसरमा रहेका सात वटा सामूहिक चिहानबाट ५२९ प्यालेस्टिनीका शव निकालिएका छन् ।
इजरायली आक्रमण केही समय कम भएको मौका छोपेर मोहम्मदको परिवारले पनि उनको शव निकालेर अन्तिम संस्कारका लागि चिहान स्थलमा सारेको थियो । गाजामा चिहानको अभाव युद्ध सुरु भएयता मारिएका ७३ हजारभन्दा बढी प्यालेस्टिनीका कारण मात्रै भएको होइन । इजरायली आक्रमणबाट चिहान स्थलसमेत ध्वस्त भएका छन् ।
गाजाको धार्मिक मामिला तथा वक्फ मन्त्रालयका अनुसार युद्ध सुरु भएयता ४० भन्दा बढी चिहान स्थल नष्ट भएका छन् । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा चिहान स्थलमा जानमा कडा प्रतिबन्ध लगाएको छ ।

यसले शव गाड्ने ठाउँ झनै सीमित बनाएको छ । इजरायली बमबारी र विस्थापनका आदेशका कारण लाखौँ प्यालेस्टिनी घर छाड्न बाध्य भएका छन् । यस क्रममा पहिले चिहानका लागि छुट्याइएका कतिपय ठाउँ विस्थापितहरूका लागि आश्रय स्थलमा परिणत भएका छन् ।
गाजाका अधिकारीहरूका अनुसार चिहानको ढुङ्गा लगायत आवश्यक सामग्रीको अभावका कारण अहिले शव गाड्न ७०० शेकेल (२३५ डलर) देखि १ हजार शेकेल (३३५ डलर) सम्म खर्च हुन्छ । उचित चिहानको ढुङ्गा बनाउन पैसा जुटाउन नसक्दासम्म ध्वस्त भवनका इँटा–ढुङ्गा, माटो वा जस्तापातालाई अस्थायी चिहान चिन्हका रूपमा प्रयोग गर्ने गरिएको छ । गाजाका ६० वटा चिहान स्थलमध्ये धेरैजसो युद्ध सुरु हुनुअघि नै क्षमताको सीमामा पुगिसकेको वक्फ मन्त्रालयका सञ्चार अधिकारी इक्रामी अल–मदल्लालले बताए ।
‘उपलब्ध चिहानको ठाउँको अभावका कारण हामीले नयाँ चिहान स्थल बनाउन आवश्यक छ,’ उनले अल जजिरालाई भने । मन्त्रालयले नयाँ चिहानका लागि ठाउँ खोजिरहेको छ । अस्थायी रूपमा गाडिएका शवलाई चिहान स्थलमा सार्न पनि चुनौती बनेको छ । ‘शव सार्ने काम जथाभाबी गर्न मिल्दैन । यसका लागि वक्फ मन्त्रालय, स्थानीय सरकार र सम्बन्धित सरकारी निकायसँग समन्वय गर्नुपर्छ,’ मदल्लालले भने ।
गाजामाथिको युद्ध आफ्नो व्यावसायिक जीवनकै सबैभन्दा कठिन समय भएको विगत १९ वर्षभन्दा बढी समयदेखि शव गाड्ने काम गर्दै आएका ५० वर्षीय तफेश अबु हाताबले बताए । उनी काम गर्ने खान युनिस चिहान स्थलमा युद्ध सुरु हुँदा करिब ६० वटा चिहान थिए ।
अहिले त्यहाँ करिब ६ हजार चिहान छन् । युद्धको एक चरणमा तफेशले दैनिक करिब ३५ वटा चिहान खन्नुपरेको थियो । ‘यति भयावह रक्तपात भएको समय हामीले कहिल्यै देखेका थिएनौँ,’ उनले भने, ‘दर्जनौँ सहिदलाई गाड्न नपरेको दिन नै हुँदैन’ ।
उनले गाड्ने अधिकांश शव महिला र बालबालिकाका हुने बताए । तीमध्ये नवजात शिशुसमेत हुन्छन् । इजरायली बमले पूरै भवन, सवारी साधन वा पाल ध्वस्त पार्दा कहिलेकाहीँ एउटै परिवारका सबै सदस्यका शव चिहान स्थलमा आइपुग्छन् । ‘उनीहरूले हाम्रा घर हाम्रै टाउकोमाथि ढालिदिन्छन् र त्यही घरको भग्नावशेषबाट हामी आफ्ना चिहान बनाउँछौँ,’ तफेशले भने ।










