काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले मतपत्र छपाइको अवस्था र निर्वाचन आयोगको तयारी हेर्दा अब मतदान गर्न मात्रै बाँकी रहेको बताउनुभएको छ। जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाइको अनुगमनपछि उहाँले निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सबैलाई ढुक्क हुन आग्रह गर्नुभयो।
प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचन एकै चरणमा गरिने तयारी रहेको छ र मौसमले पनि साथ दिने अपेक्षा गरिएको छ। समयमै निर्वाचन सम्पन्न गरी नयाँ प्रतिनिधिसभालाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको उहाँको भनाइ थियो।
यसैबीच गृहमन्त्री ओमप्रकाश अर्यालले पनि निर्वाचन एकै चरणमा सम्पन्न हुने दोहोर्याउनुभयो। हिमाली जिल्लामा मौसमका कारण मतदान प्रभावित हुने अवस्था आए अस्थायी मतदान केन्द्र तोकेर भए पनि निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो।
गृहमन्त्री अर्यालले सुरक्षित र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न हुनेमा विश्वस्त रहन सबैलाई आग्रहसमेत गर्नुभएको छ।
