काठमाडौं । रसुवामा भदौ १० गते आएको भीषण बाढी तथा पहिरोको असर जलविद्युत, बीमा र बैंकिङ क्षेत्रका कम्पनीहरूको वित्तीय अवस्थामा समेत पर्न सक्ने देखिएको छ।
बाढीका कारण जलविद्युत आयोजना, प्रसारण संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेपछि प्रभावित कम्पनीको आम्दानी, कर्जा भुक्तानी क्षमता र नाफामा दबाब पर्न सक्ने जोखिम देखिएको हो।
यसैबीच क्रेडिट रेटिङ एजेन्सीहरूले बाढीबाट प्रभावित कम्पनीहरूको वित्तीय अवस्था र सम्भावित जोखिमको पुनरावलोकन थालेका छन्। इक्रा नेपाल तथा केयर रेटिङ्स नेपालले केही कम्पनीलाई नकारात्मक असरको निगरानी तथा ‘क्रेडिट वाच’ मा राखेका छन्।
पुनर्बीमा कम्पनीको रेटिङ घट्यो
बाढीपछि बीमा क्षेत्रमा नेपाल पुनर्बीमा कम्पनीमा प्रत्यक्ष असर देखिएको छ। इक्रा नेपालले कम्पनीको ‘ए’ रेटिङलाई घटाएर ‘ए माइनस’ कायम गरेको छ।
बाढी तथा पहिरोबाट जलविद्युत आयोजना, पूर्वाधार, सवारीसाधन र अन्य सम्पत्तिमा क्षति पुगेकाले बीमा दाबी बढ्न सक्ने र त्यसको केही हिस्सा पुनर्बीमा कम्पनीको दायित्वमा आउने सम्भावना रहेको छ।
निर्जीवन बीमा कम्पनीमा दाबी बढ्ने जोखिम
बाढीका कारण निर्जीवन बीमा कम्पनीहरूमा पनि दाबीको भार बढ्न सक्ने देखिएको छ। इक्राले शिखर इन्स्योरेन्सलाई विकासोन्मुख असरको निगरानीमा राखेको छ।
त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ‘ए’, एनएलजी इन्स्योरेन्स तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ‘ए माइनस’ र युनाइटेड अजोड इन्स्योरेन्सको ‘बीबीबी प्लस’ रेटिङलाई नकारात्मक असरको निगरानीमा राखिएको छ।
जलविद्युत कम्पनीको उत्पादन र आम्दानीमा असर
बाढीबाट जलविद्युत क्षेत्र सबैभन्दा बढी प्रभावित भएको देखिएको छ। आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा विद्युत् उत्पादन र प्रसारणमा अवरोध सिर्जना भएको छ।
त्रिशूली ३बी हब सबस्टेशन तथा प्रसारण लाइनमा भएको क्षतिका कारण कतिपय आयोजनाले उत्पादन गरेको विद्युत् प्रसारण गर्न नसक्ने अवस्था सिर्जना भएको छ। यसले विद्युत् बिक्रीबाट हुने आम्दानी घट्नुका साथै कर्जा भुक्तानी क्षमतामा समेत दबाब पार्न सक्छ।
इक्राले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३बी आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी र इनर्जी डेभलपमेन्ट कम्पनीलाई समेत नकारात्मक असरको निगरानीमा राखेको छ।
बैंकको नाफामा पनि अप्रत्यक्ष असर पर्न सक्ने
हालसम्म अधिकांश बैंकको क्रेडिट रेटिङमा तत्काल परिवर्तन गरिएको छैन। तर बाढीबाट प्रभावित व्यवसाय तथा जलविद्युत आयोजनाका ऋणीले समयमै कर्जा भुक्तानी गर्न नसके बैंकको कर्जा गुणस्तरमा असर पर्न सक्छ।
विशेषगरी प्रभावित क्षेत्रका साना तथा मझौला व्यवसाय, पर्यटन व्यवसाय र अन्य ऋणीको नगद प्रवाह कमजोर भएमा निष्क्रिय कर्जा बढ्ने र बैंकले थप कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने जोखिम रहन्छ। त्यसले बैंकको सञ्चालन तथा वितरणयोग्य नाफामा दबाब पार्न सक्छ।
जीवन बीमामा तत्काल ठूलो असर नपर्ने
जीवन बीमा कम्पनीहरूमा भने तत्काल ठूलो वित्तीय असर पर्ने सम्भावना कम रहेको रेटिङ एजेन्सीहरूको निष्कर्ष छ। नेपाल लाइफ, एलआइसी नेपाल, सिटिजन लाइफ, प्रभु महालक्ष्मी लाइफलगायत कम्पनीको रेटिङमा तत्काल परिवर्तन गरिएको छैन।
जीवन बीमा कम्पनीहरूले निश्चित सीमाभन्दा माथिको मृत्यु दायित्वका लागि पुनर्बीमा सुरक्षण लिने भएकाले विपद्को प्रत्यक्ष वित्तीय प्रभाव तुलनात्मक रूपमा सीमित रहने आकलन गरिएको छ।
समग्रमा, बाढीको प्रभाव भौतिक संरचनामा मात्र सीमित नभई कम्पनीहरूको आम्दानी, बीमा दायित्व, कर्जा भुक्तानी क्षमता र अन्ततः नाफासम्म पुग्न सक्ने देखिएको छ। प्रभावित आयोजना पुनः सञ्चालनमा आउन लाग्ने समय, पुनर्निर्माण लागत, बीमा दाबीबाट प्राप्त हुने रकम तथा कर्जा पुनर्संरचनाले आगामी दिनमा कम्पनीहरूको वित्तीय अवस्थालाई प्रभावित गर्ने देखिन्छ।












