२०८३ कार्तिक १६ आईतवार
२०८३ कार्तिक १६ आईतवार

महँगी र आवास समस्याविरुद्ध युरोपभर प्रदर्शन, फ्रान्समा मात्रै ३ लाख २० हजार सडकमा

म्याड्रिड। बढ्दो महँगी, आवास सङ्कट, सार्वजनिक सेवाको कमजोर अवस्था र राजनीतिक विवादविरुद्ध युरोपका विभिन्न देशमा व्यापक विरोध प्रदर्शन भएका छन्।

शनिबार फ्रान्स, जर्मनी, पोर्चुगल, पोल्याण्ड, नेदरल्यान्ड्सलगायतका देशका प्रमुख सहरमा हजारौँ नागरिक सडकमा उत्रिएका हुन्। सामाजिक सञ्जालमार्फत प्रदर्शनका लागि आह्वान गरिएपछि विभिन्न देशमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभर भएका प्रदर्शनमा करिब ३ लाख २० हजार मानिस सहभागी भएका थिए। तीमध्ये ७० हजार पेरिसमा भेला भएका थिए। यद्यपि, आयोजकहरूले भने देशभर पाँच लाख र राजधानी पेरिसमा दुई लाख मानिस सहभागी भएको दाबी गरेका छन्।

प्रदर्शनलाई नियन्त्रणमा राख्न फ्रान्सभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। गृहमन्त्री लरेन्ट नुनेजका अनुसार घटनामा ४२२ जना पक्राउ परेका छन्।

जर्मनीका ३० भन्दा बढी सहरमा भएका प्रदर्शनमा महँगी नियन्त्रण, सार्वजनिक सेवामा लगानी वृद्धि र अनिवार्य सैन्य सेवा हटाउन माग गरिएको थियो। आयोजकका अनुसार १२ सहरको तथ्याङ्कमा मात्रै ६८ हजारभन्दा बढी मानिस सहभागी भएका थिए। केही सहरमा प्रहरीसँग झडप तथा आगजनीका घटना पनि भएका छन्।

यता, इटालीमा सार्वजनिक सेवा र जीवनयापनको बढ्दो खर्चविरुद्ध शुक्रबार ६० भन्दा बढी सहरमा प्रदर्शन भएको थियो। ट्रेड युनियनहरूले १५ लाख मानिस सहभागी भएको दाबी गरे पनि गृह मन्त्रालयले भने दुई लाख ५५ हजारको सङ्ख्या सार्वजनिक गरेको छ।

पोर्चुगलको लिस्बन र पोर्टोमा आवास समस्या समाधानको माग गर्दै एक हजारभन्दा बढी नागरिकले प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले घरभाडा र आवासको बढ्दो मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

अल्बानियाको राजधानी तिरानामा प्रधानमन्त्री एदी रामाको राजीनामासहितका माग राखेर भइरहेको प्रदर्शन शनिबार १९औँ दिन पनि जारी रह्यो। प्रदर्शनका क्रममा पेट्रोल बम र ढुङ्गा प्रहार भएपछि प्रहरीले अश्रुग्यास तथा पानीको फोहोरा प्रयोग गरेको थियो।

त्यस्तै, पोल्याण्डको राजधानी वार्सामा संवैधानिक न्यायाधिकरणको संरचना र नेतृत्वको विषयलाई लिएर प्रदर्शन भएको थियो। नेदरल्यान्ड्सको द हेगमा सामाजिक सञ्जालको आह्वानमा भेला भएको भीडलाई प्रहरीले तितरबितर पारेको छ। प्रहरीले दिनभर ३४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

स्पेनका म्याड्रिड, बार्सिलोना र भ्यालेन्सियामा पनि सम्भावित हिंसात्मक गतिविधि रोक्न सुरक्षा सतर्कता बढाइएको थियो। अघिल्लो सप्ताहन्त बार्सिलोनामा भएको झडपमा १५ प्रहरी घाइते भएका थिए भने १२८ जना पक्राउ परेका थिए।

स्पेनी समाचार संस्था ईएफईका अनुसार अनलाइनमार्फत हिंसा भड्काएको आशङ्कामा प्रहरीले देशभर थप १० जनालाई पक्राउ गरेको थियो।

युरोपका विभिन्न देशमा एकै समयमा देखिएको विरोध प्रदर्शनले बढ्दो जीवनयापन खर्च, आवास सङ्कट र सार्वजनिक सेवाप्रतिको असन्तुष्टि नागरिक तहमा व्यापक बन्दै गएको सङ्केत गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।