काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको स्वेच्छाचारिता बढ्दै गएको आरोप लगाएका छन्। सरकारका गलत गतिविधिप्रति सत्ता साझेदार दलहरू मौन बसेको भन्दै उनले उनीहरूको भूमिकामाथि प्रश्न उठाएका हुन्।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारका गलत कदमप्रति औपचारिक वक्तव्य जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने थापाको भनाइ छ। उनले सरकारका गतिविधिप्रति असहमति भए त्यसलाई व्यवहारमै देखाउन रास्वपालाई चुनौती दिएका छन्।
थापाले रास्वपाले आफ्नो राजनीतिक निष्ठा प्रमाणित गर्न संसदीय दलको बैठक बोलाएर प्रधानमन्त्रीलाई उपस्थित गराउनुपर्ने बताए। बैठकमार्फत प्रधानमन्त्रीलाई स्पष्ट निर्देशन दिई त्यसको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने उनको जोड छ।
‘हामीलाई औपचारिकता निभाउने वक्तव्य होइन, ठोस परिणाम चाहिएको छ,’ थापाले भने, ‘साँच्चिकै निष्ठा बाँकी छ भने रास्वपा संसदीय दलको बैठक बसोस्, त्यहाँ प्रधानमन्त्रीलाई बोलाइयोस्, उहाँलाई स्पष्ट निर्देशन दिइयोस् र त्यो निर्देशन कार्यान्वयनमा लगियोस्।’
सरकारका कामकारबाहीप्रति सत्ता साझेदार दलहरूको व्यवहार र विशेषगरी रास्वपाको भूमिकालाई लिएर थापाले उठाएको प्रश्नले राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ।











