काठमाडौँ । गोकर्णेश्वर–४, माकलबारीस्थित गोकर्णेश्वर लाइट एकेडेमीले शैक्षिक संस्थाका लागि तय गरिएको अन्तर्राष्ट्रिय मापदण्ड ISO 21001:2018 (Educational Organizations Management System–EOMS) प्रमाणीकरण प्राप्त गरेको छ।
गुणस्तरीय शिक्षण–सिकाइ प्रक्रिया, व्यवस्थित शैक्षिक प्रणाली तथा विद्यार्थीकेन्द्रित सेवाका लागि विद्यालयले उक्त अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो।
विद्यालयलाई अन्तर्राष्ट्रिय प्रमाणीकरण संस्था गार्जियन एसेसमेन्ट यूके लिमिटेड (Guardian Assessment UK Limited) ले ISO 21001:2018 प्रमाणपत्र प्रदान गरेको जनाएको छ।
प्रमाणीकरणको दायरामा प्रारम्भिक बाल विकासअन्तर्गत प्लेग्रुप तथा किन्डरगार्टेनदेखि माध्यमिक तह कक्षा १० सम्मको शैक्षिक तथा अतिरिक्त क्रियाकलाप समेटिएका छन्। त्यस्तै, विद्यार्थीको बौद्धिक, शारीरिक, सामाजिक तथा व्यक्तिगत विकास र सिकाइ सहयोग सेवासमेत प्रमाणीकरणको दायरामा रहेको विद्यालयले जनाएको छ।
ISO 21001:2018 शैक्षिक संस्थाहरूको व्यवस्थापन प्रणाली तथा शिक्षण–सिकाइको गुणस्तर सुधारमा केन्द्रित अन्तर्राष्ट्रिय मानक हो। यसले शैक्षिक संस्था सञ्चालनका प्रक्रिया, विद्यार्थी तथा अन्य सरोकारवालाको आवश्यकता सम्बोधन, शिक्षण–सिकाइ प्रणाली र निरन्तर सुधारलाई व्यवस्थित बनाउन सहयोग गर्ने मानिन्छ।
विद्यालयले ISO प्रमाणीकरण प्राप्त गर्नुले आफ्नो शैक्षिक प्रणालीलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, विद्यार्थीहरूले बालकेन्द्रित तथा सिकाइमैत्री वातावरणमा अध्ययन गर्ने अवसर पाउने विद्यालयको भनाइ छ।
विद्यालय प्रशासनले यो उपलब्धिको श्रेय शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूलाई दिँदै आगामी दिनमा पनि गुणस्तरीय, व्यावहारिक र विद्यार्थीकेन्द्रित शिक्षा प्रदान गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।












