काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित विद्यालयहरूमा नियमित पठनपाठन सुरु गर्नुअघि विद्यार्थीलाई अनिवार्य रूपमा मनोसामाजिक परामर्श दिन सरकारले निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले सम्बन्धित स्थानीय तहलाई पत्र पठाउँदै बाढीका कारण विद्यार्थीमा परेको भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पहिचान गरेर आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै कक्षा सञ्चालन गर्न आग्रह गरेको हो।
शिक्षा विभागका निर्देशक नीलकण्ठ ढकालद्वारा जारी पत्रमा विपद्का कारण बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्न सक्ने भन्दै उनीहरूको अवस्था बुझ्नु र आवश्यक परामर्श उपलब्ध गराउनु अपरिहार्य रहेको उल्लेख गरिएको छ।
विभागका अनुसार प्रभावित विद्यार्थीलाई मानसिक रूपमा सामान्य अवस्थामा फर्काउन सहयोग नगरी तत्कालै पठनपाठन सुरु गर्दा उनीहरूको सिकाइ क्षमता र मानसिक स्वास्थ्यमा थप नकारात्मक असर पर्न सक्ने जोखिम छ।
यसका लागि सम्बन्धित विद्यालय तथा स्थानीय तहले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गर्नुपर्नेछ। स्वास्थ्यकर्मीको सहयोगमा विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गरी आवश्यकताअनुसार परामर्श तथा अन्य सहयोग उपलब्ध गराउन विभागले निर्देशन दिएको छ।
विद्यार्थीहरू परामर्शपछि नियमित कक्षामा सहभागी हुन मानसिक रूपमा तयार भएको सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ। साथै, पठनपाठन सञ्चालन गर्दा सुरक्षित र बालमैत्री वातावरण सुनिश्चित गर्न पनि स्थानीय तह तथा विद्यालयलाई आग्रह गरिएको छ।











