काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले भोटेकोसी बाढीपछि भइरहेका खोज, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामको समीक्षा गरेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले भोटेकोसी बाढीलगायत समसामयिक विषयमा दलहरूबीच छलफल भएको जानकारी दिए। उनका अनुसार बाढी प्रभावित क्षेत्रमा सरकार तथा राजनीतिक दलहरूले गरिरहेका कामकारबाहीको अवस्थाबारे समीक्षा गरिएको हो।
बैठकले रवि लामिछानेको संयोजकत्वमा रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय समेत गरेको छ। उक्त संयन्त्रमा रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति, राप्रपा, जसपा नेपाल, जनमत पार्टीलगायत संसद्मा प्रतिनिधित्व गर्ने तथा बाहिर रहेका दलहरूको सहभागिता रहने बताइएको छ।
त्यस्तै, एक साताभित्र संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ। समितिमा संसद्मा दलहरूको रहेको सीट संख्याका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था गरिनेछ।
विशेष समितिले विपद् प्रभावित क्षेत्रको अध्ययन तथा छानबिन गर्नुका साथै आवश्यक समन्वय गर्ने जनाइएको छ। यद्यपि समितिको विस्तृत कार्यक्षेत्र भने अझै निर्धारण हुन बाँकी रहेको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न संयुक्त राष्ट्रसङ्घ भ्रमणका विषयमा समेत छलफल भएको प्रवक्ता खरेलले जानकारी दिए।












