काठमाडौं । जोखिममा आधारित पुँजी प्रणाली लागू भएपछि नेपाली जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी अनुपात उल्लेख्य रूपमा घटेको देखिए पनि कम्पनीहरूको आधारभूत वित्तीय सबलता भने कमजोर नभएको निष्कर्ष इक्रा नेपालको प्रतिवेदनले निकालेको छ।
इक्रा नेपालका अनुसार सोल्भेन्सी अनुपातमा आएको गिरावटको मुख्य कारण कम्पनीको वित्तीय अवस्था बिग्रिनु नभई जोखिम मापन गर्ने प्रणालीमा आएको परिवर्तन हो। नयाँ व्यवस्थाले कम्पनीले वहन गर्ने विभिन्न जोखिमलाई थप सूक्ष्म र जोखिम संवेदनशील ढंगले मूल्याङ्कन गर्ने भएकाले आवश्यक पुँजीको भार बढेको छ।
सोल्भेन्सी अनुपातले बीमा कम्पनीले भविष्यमा बीमितप्रतिको दायित्व पूरा गर्न, आकस्मिक नोक्सानी थेग्न तथा थप व्यवसाय विस्तार गर्न सक्ने वित्तीय क्षमता देखाउँछ।
नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित पुँजी प्रणालीअन्तर्गत सोल्भेन्सीको नियामकीय लक्ष्य १३० प्रतिशत अर्थात् १.३० गुणा तोकेको छ। यसको अर्थ १.३० गुणाभन्दा माथिको अनुपातमा रहेका कम्पनीसँग सम्भावित वित्तीय जोखिम सामना गर्ने तुलनात्मक रूपमा पर्याप्त क्षमता रहेको मानिन्छ।
प्रतिवेदनअनुसार जोखिममा आधारित पुँजी प्रणाली लागू हुनुअघि आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म जीवन बीमा क्षेत्रको औसत सोल्भेन्सी अनुपात करिब ३.२४ गुणा थियो। तर नयाँ प्रणाली लागू भएपछि आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा यो औसत घटेर करिब १.९९ गुणा पुगेको छ।
आर्थिक वर्ष २०८१/८२ मा आईएमई लाइफको सोल्भेन्सी अनुपात २.५९ गुणा, रिलायबल नेपाल लाइफको २.५५ गुणा, सन नेपाल लाइफको २.४४ गुणा र मेटलाइफको २.०८ गुणा रहेको छ।
त्यस्तै, एसियन लाइफ १.३३ गुणा, हिमालयन लाइफ १.३२ गुणा, नेसनल लाइफ १.६६ गुणा, नेपाल लाइफ १.५४ गुणा, एलआईसी नेपाल १.५० गुणा, सूर्यज्योति लाइफ १.६५ गुणा र सानिमा रिलायन्स लाइफ १.५७ गुणामा छन्।
प्रतिवेदनले सोल्भेन्सी अनुपात घट्दैमा कम्पनी संकटमा परेको निष्कर्ष निकाल्न नहुने स्पष्ट संकेत गरेको छ। नयाँ प्रणालीले कम्पनीको जोखिमलाई पुरानो व्यवस्थाभन्दा बढी संवेदनशील रूपमा मापन गर्ने भएकाले अनुपात कम देखिएको हो।
इक्रा नेपालका अनुसार अधिकांश जीवन बीमा कम्पनीमा एकैपटक यस्तो परिवर्तन देखिनुले यो गिरावट कुनै एक कम्पनीको कमजोरीभन्दा पनि नयाँ नियामकीय प्रणालीको प्रभाव भएको देखाउँछ।
यससँगै नेपालको बीमा क्षेत्रमा जोखिममा आधारित पुँजी प्रणाली अन्तर्राष्ट्रिय नियामकीय अभ्याससँग थप नजिकिएको प्रतिवेदनले जनाएको छ।
सोल्भेन्सी अनुपातको अर्थ के हो?
१.३० गुणाभन्दा माथि : कम्पनीको पुँजी अवस्था तुलनात्मक रूपमा सुरक्षित
१.००–१.३० गुणा : नियामकीय निगरानी तथा सुधारात्मक कदम आवश्यक हुन सक्ने
०.७०–१.०० गुणा : नियामकीय हस्तक्षेपको अवस्था
०.४५–०.७० गुणा : कडा नियन्त्रण तथा व्यवसायमा प्रतिबन्धसम्मको अवस्था
यसर्थ, पछिल्लो तथ्यांकमा जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी अनुपात घटेको भए पनि धेरै कम्पनी अझै नियामकीय लक्ष्यभन्दा माथि रहेको देखिन्छ।












